काठमाडौं – लुम्बिनी प्रदेशमा सोमबार भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको नतिजाले नेकपा एमालेका मुख्यमन्त्री शंकर पोखरेललाई ठूलो धक्का लागेको छ ।
उपनिर्वाचनमा भएको मतदानको गणना हुँदा प्रदेश सभातर्फका बहुमत मतहरू कांग्रेस उम्मेदवारको पक्षमा परेका छन् भने नेकपा एमालेका उम्मेदवारको पक्षमा अल्पमत देखिएको छ ।
उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेले ५४६ मतभारले अगाडि आउँदै सानदार जीत हात पारेका छन् ।
सोमबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले पराजित गर्दै पाण्डे विजयी भएका छन् ।
मतगणनामा नेपाली कांग्रेसका पाण्डेले ४ हजार १४० मतभार ल्याउँदा नेकपा एमालेका चन्द्रबहादुर खड्काले ३ हजार ५९४ मतभार मात्रै ल्याउन सके ।
मतदानमा स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर हुँदा सदर भएका २११ मतमध्ये पाण्डेले ११८ मत पाएका छन् भने एमालेका उम्मेदवार खड्काले ९३ मत पाएका छन् ।
प्रदेश सभाका ८३ मतमध्ये १ मत बदर हुँदा पाण्डेले ४२ मत पाएका छन् भने खड्काले ४० मत पाएका छन् । यसरी एमालेका मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा प्रदेश सभाभित्र ४० मत मात्रै देखिने र कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनको पक्षमा ४२ मत देखिएको छ ।
मुख्यमन्त्री पोखरेललाई ठूलो धक्का लागेको छ । पोखरेलले प्रदेश सभामा एमालेको एकल बहुमत रहेको दाबी गर्दै आएका थिए । तर सोमबारको मतदानमा एमाले सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ प्रदेशसभा सांसदले समेत मतदान गरेका थिए । जसपाका ४ सांसदले समेत एमालेकै उम्मेदवारका पक्षमा मतदान गर्ने अनुमान गरिएको थियो । जसपाका ४ सांसदको मत समेत घटाउँदा एमाले पार्टीको पक्षमा ३६ सांसद मात्रै देखिएका छन् ।
लुम्बिनी प्रदेशमा नेकपा प्रदेशसभा र स्थानीय तह दुबैतिर अल्पमतमा परेको छ भने विपक्षी गठबन्धनले बहुमत पाएको छ ।
कांग्रेस उम्मेदवार पाण्डेलाई विपक्षी गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।
लुम्बिनीमा कूल ३०० मतदाता भएपनि सोमवार भएको मतदानमा २९७ मत खसेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।