काठमाडौं – कम्युनिस्ट नेताहरू विभिन्न आपराधिक घटनामा मुछिएर आतंक मच्चाउने गरेको पृष्ठभूमिमा फेरि एकपल्ट नेकपा एमालेको घिनलाग्दो कर्तुतका कारण देशभर तरङ्ग फैलिएको छ ।
बिहीवार राति बाँकेस्थित भेरी अस्पतालको अस्पतालको आईसीयूमा उपचाररत दाङका ५३ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत, मृतकका छोरा भरत, लोकराज लगायतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेपछि देशभर तरङ्ग फैलियो । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने मानबहादुर रावत नेकपा एमालेको प्रदेश कमिटी सदस्य र मुख्यमन्त्री शंकर पोखरेल निकट रहेको खुलासा भएपछि घटनाले झनै चर्चा पायो ।
भेरी अस्पतालमा कार्यरत स्टाफ नर्स सदीक्षा गैरेसहित स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको घटनाको राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दल नेपाली कांग्रेस लगायत सबैले विरोध गरेका छन् । कोरोना महामारीको बेला उपचारमा सक्रिय स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनाको सर्वत्र निन्दा भएको छ ।
रावत नेतृत्वको आक्रमणकारी समूहले स्वास्थ्यकर्मीको घाँटी च्यापेर ज्यान मार्न खोजेको बताइएको छ । स्वास्थ्यकर्मीहरूले झ्यालबाट हाम्फालेर ज्यान जोगाएको बयान दिएका छन् ।
रावतको नेतृत्वमा आक्रमण हुँदा गैरेसहित आश्मिनी गुरुङ, रीता अधिकारी, भावना श्रेष्ठ, कविता पुन गरी ५ जना नर्स र डा. चन्द्रप्रकाश साहु उपचारमा खटिएका थिए । रावतको मृत्युपछि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो ।
प्रहरी समयमै अस्पताल नआएको गुनासो स्वास्थ्यकर्मीले गरिरहँदा एमाले नेताको दादागिरीबाट देशभर तरङ्ग फैलिएपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराज गेलाल र प्रहरी उपरीक्षक (एसपी) ओम राणा अस्पताल पुगेका थिए । घटनामा संलग्न ३ जनालाई पक्राउ गरेर ज्यान मार्ने उद्योग र अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एमाले नेता समेत रहेका आक्रमणकारी ४३ वर्षीय मानबहादुर रावत यसअघि समेत पटक–पटक विवादमा मुछिँदै आएका थिए । यसअघि तुलसीपुर उपमहानगरपालिकामा सुब्बा हुँदा नगर प्रमुख (मेयर) घनश्याम पाण्डेको सचिवालयमा आएर महिला जनप्रतिनिधिमाथि गिद्दे नजर लगाएका थिए । महिला जनप्रतिनिधिले नै रावतले यौन दुर्व्यवहार गरेको उजुरी गरेपछि उनलाई वडा कार्यालयमा पठाइएको भएपनि त्यहाँ बजेट धेरै खेलाउन नपाइने भएपछि उनले राजीनामा दिएको स्थानीयले जनाएका छन् ।
एमाले नेता रावतमाथि ७ वर्षअघि लमहीकी १ जना महिला कार्यकर्तालाई बलात्कार गरेको आरोप समेत थियो । पार्टीको कार्यक्रम सकेर मोटरसाइकलमा घरमा पुर्याउन गएका नेता रावतले जबरजस्ती करणी गरेको भन्दै महिलाले प्रहरीमा उजुरी समेत दिएकी थिइन् । तर जस्तोसुकै घिनलाग्दो कर्तुत गर्दै आएपनि रावतले एमाले पार्टीको आडमा उन्मुक्ति पाउँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।