सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

अब कांग्रेस महाधिवेशन के हुन्छ ? यी हुन् नेतृत्व चुन्ने विकल्पहरू

अब कांग्रेस महाधिवेशन के हुन्छ ? यी हुन् नेतृत्व चुन्ने विकल्पहरू

  • मिडिया डबली
  • शुक्रवार, जेठ १४ २०७८

  • 3.5K
    SHARES

  • अब कांग्रेस महाधिवेशन के हुन्छ ? यी हुन् नेतृत्व चुन्ने विकल्पहरू

    काठमाडौं – आगामी भदौ ७ देखि १० गतेका लागि तय नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनेको छ ।

    विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित बनेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले २ विकल्प अघि सारेका छन् ।

    पौडेलले बिहीबार नेपाल प्रेस युनियन स्थापना दिवसका अवसरमा आयोजित ‘भर्चुअल’ कार्यक्रममार्फत विकल्प देखाएका हुन् । पार्टी केन्द्रीय कार्यालयमा अनलाइन प्रणालीमा आएका क्रियाशील सदस्यबाट छानबिन गरेर (विवाद भएका बाहेक) मात्रै महाधिवेश गर्न सकिने वा १३ औं महाधिवेशनमा छानिएका पुराना प्रतिनिधिबाटै भए पनि १ वर्षका लागि केन्द्रीय सदस्य निर्वाचित गर्न सकिने प्रस्ताव पौडेलले गरेका छन् ।

    ‘पार्टी महाधिवेशन नभएको धेरै भयो, वैधानिकताको पनि प्रश्न छ, महाधिवेशन गर्नैपर्छ, कि त टुंगिएका सदस्यबाट महाधिवेशन गरौं,’ पौडेलले भने, ‘कि १३ औं महाधिवेशनकै प्रतिनिधि सहभागी गराएर १ वर्षका लागि केन्द्रीय सदस्य निर्वाचित गराऔं ।’

    पौडेलको धारणापछि सभापति शेरबहादुर देउवाले आफूलाई महाधिवेशन टार्ने रहर नभएको भन्दै सबै विकल्पमा बसेर खुला छलफल गर्न तयार रहेको बताएका छन् । ‘बसेर छलफल गरौं, मलाई पनि महाधिवेशन गर्न मन छ, टार्न खोजेको होइन, कोभिड आयो त के गर्ने ?’ उनले भने, ‘सबै साथी समेटेर महाधिवेशन गरौं, पुराना मात्र समेट्दा नयाँ रिसाउँछन्, छलफल गरौं, कसैलाई बाइपास गर्ने कुरा छैन, अनलाइनबाट पनि सकिन्छ होला ।’

    सभापति देउवाले महाधिवेशनबारे आफू प्रष्ट रहेको भन्दै आफ्नो प्रजातन्त्रप्रतिको निष्ठामाथि प्रश्न नउठाउन नेता पौडेललाई आग्रह गरेका छन् ।

    ‘म पनि प्रजातन्त्रका लागि लडेको हुँ, प्रजातन्त्रविरुद्ध जान्छु होला र ?’ उनले पौडेलतिर औंल्याउँदै थपे, ‘म पनि तपाईंसँगै जेलमा परेको मान्छे हो, प्रजातान्त्रिक पद्धतिमा प्रतिबद्ध छु ।’

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सूचना तथा प्रचार विभागले महाधिवेशनमा प्रविधि प्रयोगबारे तयारी गरिरहेको बताए ।

    ‘सकेसम्म भौतिक रुपमै महाधिवेशन गर्नुपर्छ, नभए प्रविधि प्रयोबाट पनि गर्न सकिन्छ, हामी प्रयास गर्दै छौं,’ शर्माले भने, ‘भर्चुअल रुपमै उद्घाटनदेखि मतदानसम्म गर्नुपर्ने अवस्था आएमा पनि पार्टी सूचना तथा सञ्चार विभागले प्रयास गरिरहेको छ ।’

    संवैधानिक व्यवस्थमा टेकेर कांग्रेसले यसअघि अन्तिमपटक केन्द्रीय समितिको म्याद भदौसम्म थपेको थियो । संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ मा ५ वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसके ६ महिना म्याद थप्न सक्ने प्रावधान रहेको छ ।

    नेपाली कांग्रेसले हालसम्म नवीकरण र क्रियाशील गरी करीब ८ लाख सदस्यता वितरण गरेको छ । केही जिल्लामा विवादका कारण सदस्याको काम नै हुन सकेको छैन । सिन्धुपाल्चोकमा समायोजनकै काम हुन सकेको छैन भने समायोजन भएका सप्तरी, बारा र सिराहाको विवाद कायमै रहेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend