काठमाडौं - कोरोना महामारीका कारण नेपाली जनता आहत छन् । सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेका छन् ।
सरकार युद्धस्तरमा नजुटे पनि व्यक्तिगत खर्च र दाताको सहयोगमा केही भए पनि काम हुँदै आएको छ । सहयोगी दाताले अहिलेसम्म आफ्नो प्रचार त्यति गरेको देखिन्न ।
नेपाली कांग्रेसका नेताहरू गगन थापा, मोहनबहादुर बस्नेत, प्रदीप पौडेल, रामहरि खतिवडा, डम्बर खड्का जसले कोरोना महामारीका बेला आफ्नै खर्चमा सहयोग गरिरहेका छन् । तर, कतै पनि आफ्नो प्रचार गरेको देखिन्न ।
अझ जाजरकोटका कांग्रेस नेता राजीवविक्रम शाहले आफ्नो जिल्लामा पाँच करोडको सहयोगमा हस्पिटल नै बनाइदिए । अहिले सो हस्पिटलमा सर्वसाधारण जनताले उपचार गर्दै आएका छन् । तर, एकपटक पनि कतै प्रचार गरेनन् ।
तर, कम्युनिस्ट नेताहरुमा प्रचारको भोक कतिसम्म हुन्छ भन्ने ताजा उदाहरण वनमन्त्री प्रेमकुमार आले भएका छन् । अभिव्यक्तिकै कारण पटक पटक विवादमा पर्दै आएका मन्त्री आले अहिले अक्सिजन सिलिन्डरमा फोटो टाँसेका कारण विवादमा तानिएका छन् ।
आले एमाले नेता र सरकारका मन्त्री पनि हुन् । उनले गर्ने हरेक काम र बोल्ने अभिव्यक्तिमा जनताको चासो हुन्छ । उनी के गर्छन् कसो गर्छन्, कहाँ जान्छन् ? सबै जनताको निगरानीमै पर्छ । उनले जवाफ दिनुपर्छ ।
तर, विपतका बेला सहयोगमा दिएको अक्सिजन सिलिन्डरमा मन्त्री आलेले आफ्नो फोटो टाँसेर जग हँसाएका छन् । उनीमाथि नैतिकताको प्रश्न उठेको छ ।
वनमन्त्री आलेले भने जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको दाबी गरेका छन् ।
सेती प्रादेशिक अस्पताल कैलालीमा सोमबार अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै खर्चमा किनिएको बताए ।
तर अक्सिजन सिलिन्डरको रंग हेर्दा हालै चीन सरकारले अनुदानमा दिएका सिलिन्डर जस्तो देखिन्छ । मन्त्री भएका व्यक्तिले व्यक्तिगत सहयोगमै वितरण गरे पनि फोटो टाँस्दा नैतिकताको प्रश्न उब्जेको छ । कात्तिकमा चुनावको घोषणा गरिएको छ, मतदातालाई प्रभावमा पार्न पनि आलेले विपतको बेलामा पनि उनले आफ्नो फोटो टाँसेर प्रचार गरेको विश्लेषण हुन थालेको छ ।
यस्तै, अवस्था सिन्धुपाल्चोकमा पनि छ । सो जिल्लामा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले व्यक्तिगत र शुभचिन्तकको करोडौं सहयोगमा कोरोना उपचारका लागि आइसोलेसन सेन्टर निर्माण तथा स्वास्थ्य सामग्री वितरण गर्दै आएका छन् । तर, कहिल्यै प्रचार गरेनन् ।
तर अहिले सिन्धुपाल्चोकमा कोभिड बिरामीको उपचारका लागि ७५ लाखमा स्थापना गरिएको अक्सिजन प्लान्टबारे कम्युनिस्ट नेताद्वय सभामुख अग्नि सापकोटा र पूर्वकानुनमन्त्री एवं एमाले नेता शेरबहादुर तामाङबीच आफ्नो पहलमा बजेट आएको भन्दै जस लिने होड चलेको छ । जबकि सो बजेट दुवैको व्यक्तिगत गोजीबाट हालिएको होइन । जनताले आफ्नो गाँस काटेर दिएको कर हो । त्यसमा पनि कम्युनिस्ट नेताहरूले स्वार्थ देखाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।