काठमाडौं – गत प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनपछि लगातार सरकारबाहिर रहेको नेपाली कांग्रेस अब छिट्टै सरकारमा सहभागी हुने भएको छ ।
कर्णाली प्रदेशमा कांग्रेसका समर्थनमा विश्वासको मत लिएर कुर्सी जोगाउन सफल भएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसका २ जनालाई मन्त्री बनाउने भएका छन् ।
तत्कालीन नेकपा एमालेले सरकार छाडेर समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेश सरकारमा केही मन्त्रालय खाली रहेका छन् ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सबैतिरबाट कांग्रेस सरकारमा सहभागी हुनुपर्ने सुझाव आएपछि सरकारमा जाने निर्णयमा पुगिएको जनाएका छन् । ‘जनताको समस्या समाधान गर्न, कोरोनाको महामारीबाट कर्णालीका नागरिकलाई जोगाउन तत्काल मन्त्री नियुक्त गर्न नागरिकस्तरबाट दबाब आइरहेको थियो,’ कांग्रेस स्रोतले भन्यो ।
कर्णाली सरकारमा कांग्रेसबाट सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने सहमति पार्टीमा भइसकेको स्रोतले जनाएको छ ।
कर्णाली प्रदेश सभामा ६ सांसद रहेको कांग्रेसभित्र मन्त्री चयनमा सहजै सहमति जुटेको जनाइएको छ । संसदीय दलका नेता शाहीले समेत मन्त्री बन्ने नामको टुंगो लागिसकेको बताएका छन् । शाहीले जनताको चाहना, आवश्यकताबमोजिम कांग्रेस सरकारमा सहभागी हुन लागेको बताएका छन् ।
शाहीले सरकारमा जान भइरहेको ढिलाइबारे बताउँदै भने, ‘मन्त्रालयको कार्यविभाजनमा थोरै समस्या देखिएको छ । त्यो समाधान हुने बित्तिकै आमजनताको माग बमोजिम कांग्रेस सरकारमा जान्छ ।’
कर्णालीमा कांग्रेसलाई कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारमा सक्रिय हुने सामाजिक विकास मन्त्रालय दिइएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रको विवाद चर्किएका बेला कुर्सी जोगाउन मुस्किलमा परेका मुख्यमन्त्री शाहीलाई कांग्रेसले विश्वासको मत दिएर सहयोग गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।