काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देशमा स्वास्थ्य संकटकाल जरुरी नभएको बताएका छन् ।
सबैलाई अहिले नै भ्याक्सिन आवश्यकता भए पनि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अक्सिजन र भ्याक्सिन खरिदमा धेरै कमिसन खानेमा केन्द्रित हुँदा समस्या आएको सभापति देउवाले बताए । उनले अक्सिजन र भ्याक्सिजनमा कमिसन नखान ओलीलाई आग्रह गरे ।
नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिले सोमवार गरेको बाग्मती प्रदेशमा कोभिडको अवस्था र पार्टीको भूमिका विषयक भर्चुअल संवादमा देउवाले स्वास्थ्य संकटकाल लगाउन आवश्यक नरहेको र कांग्रेसले माग नगर्ने बताए ।
‘अहिले संकटकाल लगाएर केही हुनेवाला छैन, त्योभन्दा महत्त्वपूर्ण सबै नेपालीले भ्याक्सिन पाउनुपर्छ भन्ने हो,’ उनले भने, ‘जबसम्म सबैले भ्याक्सिन पाउँदैनन्, तबसम्म केही हुनेवाला छैन । त्यसैले भ्याक्सिन नै अहिलेको आवश्यकता हो ।’
भ्याक्सिन खरिदका लागि सरकारको ध्यानाकर्षण गराइरहे पनि मन्त्रीहरू कमिसनतिर लागेको आरोप देउवाले लगाएका छन् ।
‘भ्याक्सिन खरिद गर भनेर हामीले आवाज उठाइरहेका छौं तर सरकारले सुन्दैन, अरुले भनेको मान्दैन,’ देउवाले भने, ‘बरु सरकारका स्वास्थ्यमन्त्री नै यस्तो महामारीका बेला समेत भ्याक्सिन र अक्सिजन खरिदमा कसरी धेरै कमिसन लिन सकिन्छ, कति पैसा कमाउन सकिन्छ भन्ने सोचिरहेका छन् । सरकारलाई कमिसनको लोभ छ, पैसा चाहिएको छ । यस्तो भएपछि के गर्ने ?’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।