काठमाडौं – नेपाली कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको प्रयास विफल भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेको हो ।
यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ठूलो दलका नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति भण्डारीले बिहीवार साँझ संविधानको धारा ७६ (३) बमोजिम एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्री ओलीले शुक्रवार शपथ लिने तय भएको छ । यससँगै ओलीले एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद् गठन गर्ने स्रोतले जनाएको छ ।
ओलीले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई पनि सरकारमा आउन आग्रह गरेका छन् । ओलीले अब संविधानको धारा ७६(४) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
ओलीले यसअघि प्रधानमन्त्रीका रुपमा प्रतिनिधि सभामा विश्वासको मत गुमाएसँगै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(२) बमोजिम सरकार बनाउन दाबी पेश गर्न बिहीवार राति ९ बजेसम्मको समय दिएकी थिइन् । तर समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
बिहीवार दिनभरको रक्साकस्सीबीच संयुक्त सरकार बन्ने वातावरण बनाउन विपक्षी दल असफल भएका हुन् । एमाले विभाजन अन्तिम घडीमा टर्दा विपक्षी गठबन्धनले बहुमत जुटाउन सकेन । कांग्रेस र माओवादी नेता एमालेको नेपाल पक्षको आशामा बहुमत जुटाउन लागेका थिए ।
तर प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीचको वार्ताले एमालेमा निकासको बाटो खोजेको छ । ओलीसँग घनिभूत संवादपछि नेता नेपालले विवाद समाधान गर्न कार्यदल बनाएर अघि बढ्ने सहमति भएको जानकारी दिए ।
‘विवाद सुल्झाउन मैले प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा धेरैबेर छलफल भयो,’ नेता नेपालले भने, ‘फागुन २८ गतेको निर्णय फिर्ता गर्ने र पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन एउटा विधि बनाएर जाने सहमति भएको छ ।’
नेता नेपालले आफ्नो पक्षको राजीनामा २–४ दिन टरेको बताए । ‘अब राजीनामा २–४ दिन टरेको छ । मिल्ने दिशामा अगाडि बढेको छ,’ उनले भने, ‘सहमतिका आधार सबै कुरा टुंगो लाग्छ ।’
प्रधानमन्त्री ओलीले बिहीवार बिहानै नेपाललाई टेलिफोन गरी पार्टी एकताको प्रस्ताव गरेका थिए । त्यसपछि अर्थमन्त्री विष्णु पौडेल नेपालको कोटेश्वरस्थित निवासमा पुगे । अर्थमन्त्री पौडेलले नेपाललाई वार्ताका लागि सहमत गराएका थिए । एमाले स्थायी कमिटी बैठक बिहान ९ बजे बस्यो । बैठकले नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई गरिएको निलम्बनको कारबाही फुकुवा गर्ने निर्णय गर्यो ।
पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले ओलीलाई प्रत्यायोजन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।
कारवाही फुकुवालगत्तै नेपाल पक्षीय नेता योगेश भट्टराईले स्थायी कमिटीको निर्णयलाई सकारात्मक भनेर प्रतिक्रिया दिए । ओली र नेपालबीचको वार्ता तय भयो । नेपाल प्रधानमन्त्री निवास बालुवाटार नजाने अडानमा रहेपछि बुढानिलकण्ठमा वार्ता गर्ने तय भयो । २ शीर्षस्थ नेताबीच दिउँसो २ देखि करीब साँझ ६ बजेसम्म घनिभूत संवाद भयो । करीब ४ घण्टा चलेको वार्ताले एमालेको सम्भावित विभाजन रोकेर एकताको बाटो तय गर्यो । एकता मजबुत गराउन कार्यदल बनाउने सहमति भयो । प्रधानमन्त्रीमा ओलीले नै निरन्तरता पाएका छन् ।
ओली र नेपालबीच वार्ता चलिरहेकै बेला ४ नेतालाई कारवाही फुकुवाको पत्र पठाइएको थियो । अध्यक्ष ओलीले हस्ताक्षर गरेको पत्रमा २०७७ चैत १६ गते गरिएको प्रतिनिधिसभा सदस्यबाहेक अन्य पदको निलम्बन बैशाख ३० गतेको स्थायी कमिटी बैठकको निर्णयअनुसार फुकुवा भएको उल्लेख गरिएको छ ।
एमालेको असन्तुष्ट पक्षको माग सम्बोधन गर्न र पार्टीलाई थप एकताबद्ध गराउन ओली र नेपालबीच कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा को–को रहने भन्ने सार्वजनिक गरिएको छैन । संस्थापनबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्बाङ रहने तय भएको छ । असन्तुष्ट पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा रहनेछन् । २ सदस्यपछि थप्ने सहमति भएको छ ।
विपक्षी दलले दिनभर बहुमत जुटाउन हरसम्भव प्रयास गरेका थिए । प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई बोलाएर सहयोग गर्न आग्रह गरे । तर ठाकुर र महतोले उपेन्द्र यादवलाई च्यापेर हिँडेको कारण देखाउँदै सहयोग गर्न नसक्ने बताए । उनीहरु अहिलेको अवस्थामा देउवालाई सहयोग गर्न नसक्ने भन्दै बाहिरिएका थिए । त्यसपछि देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा बसेका थिए ।
एमालेको नेपाल पक्षले ४ बजेसम्म राजीनामा बुझाउनेमा प्रचण्ड विश्वस्त थिए । तर देउवाले पहिलेदेखि नेपाल पक्षलाई पूर्ण विश्वास गर्न नसकिने बताउँदै आएका थिए । प्रचण्ड, यादव, नेपाल र रावलले देउवालाई राजीनामा बुझाउनेमा विश्वास दिलाएका थिए । नेपाल ओलीसँग वार्ता गर्न गएपछि ४ बजेसम्म कुर्ने कुरामा प्रचण्डले देउवालाई सहमत गराएका थिए ।
उनीहरुले ठाकुर र महतो नआउने भएपछि साँझ ४ बजेसम्म नेपाल पक्षको राजीनामा आउँछ कि भनेर कुरेका थिए । नेपाल पक्षले धोका दिएपछि उनीहरु वैकल्पिक सरकार निर्माणको दाबीबाट पछि हटेका हुन् । सरकार गठनका लागि आवश्यक पर्ने १३६ सांसदको संख्या जुटाउन नसकेपछि कांग्रेस र माओवादी दुबै दल सरकार गठनको प्रक्रियाबाट पछि हट्नुपर्ने अवस्था आएको छ । उनीहरुको साथमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ र जसपाको यादव पक्षका १५ सांसद गरी १२४ मात्रै पुगेका थिए ।
तोकिएको समयमा संख्या नपुगेपछि पदाधिकारी बैठक बसेर कांग्रेसले सरकार निर्माण दाबी पेश नगर्ने निर्णय गर्यो । बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले बहुमतको सरकार बनाउन नसकिने निष्कर्षमा पुगेको बताए । ‘उपेन्द्र यादवजी त तयार हुनुहुन्थ्यो तर महन्थ ठाकुर, राजेन्द्र महतोले हामी बहुमतको सरकारमा सहभागी हुँदैनौं र समर्थन पनि गर्दैनौं भन्नुभयो,’ सहमहामन्त्री डा. महतले भने, ‘माधव नेपालजीहरुको पनि निर्णय आएन ।’
माओवादी स्थायी कमिटीको पनि बैठक बस्यो । बैठकपछि माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी सरकार गठनमा अग्रसर नहुने निर्णय गरेको बताए । एमालेको नेपाल पक्षले बहुमतको सरकार बनाउनेभन्दा प्रधानमन्त्री ओलीसँगै एकताबद्ध भएर अघि बढ्ने नीति लिएको कारण यस्तो निर्णय गर्नुपरेको प्रवक्ता श्रेष्ठले बताए । ‘यसलाई नेपाल पक्षले धोका दिएको भनेर त म टिप्पणी गर्दिनँ तर उहाँहरु ओलीजीसँगै एकताबद्ध भएर जाने नीतिमा गएको देखियो,’ उनले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।