काठमाडौं – नेपाली कांग्रेसबाट गण्डकी प्रदेशमा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा मतदान नगर्ने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट बर्खास्त गरिएको छ ।
पार्टीका केन्द्रीय महासचिव मनोज भट्टले सांसद थापालाई दलको नेताबाट हटाइएको जानकारीसहित प्रदेशसभा सभामुखलाई पत्राचार गरेका छन् ।
सांसद थापाले पार्टीको निर्देशन नमानेकाले कारबाही गरिएको पत्रमा उल्लेख छ ।
सांसद थापालाई संसदीय दलको नेताबाट कारबाही गरिए पनि सांसद पदबाट निलम्बन वा बर्खास्त गरिएको छैन । पार्टीका प्रक्रिया मिलाउनुपर्ने भएकाले तत्कालै थप कारवाही गर्न नमिल्ने स्रोतले जनाएको छ ।
प्रदेश सभामा ३ सांसद रहेको राजमोका पियारी थापा र खिमविक्रम शाहीले नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनले मुख्यमन्त्रीको रुपमा अगाडि सारिएका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा हस्ताक्षर गरेका छन् ।
सांसद कृष्ण थापाले पोखरेलको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि पार्टीले दल नेताबाट बर्खास्त गरेको छ । थापालाई संसद सदस्यबाटै हटाउने तयारी रहेको गठबन्धन स्रोतले जनाएको छ ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा पार्टी सहभागी हुँदा समेत छुट्टै हिँडेर गण्डकी प्रदेशमा कांग्रेसका प्रस्तावित मुख्यमन्त्री पोखरेलविरुद्ध षड्यन्त्र गरेपछि सांसद थापालाई १ घण्टे स्पष्टीकरण सोधिएको थियो ।
पार्टी केन्द्रले कांग्रेस नेतृत्वमा गठन हुने नयाँ सरकारका लागि हस्ताक्षर गर्न सांसदहरूलाई निर्देशन र ह्वीप जारी गरेका बेला थापाले अटेरी गरिरहेका छन् ।
कूल ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा जनमोर्चाले आफ्ना एक सांसदलाई कारबाही गरी सांसदबाट हटाएमा सांसद संख्या ५९ हुने देखिएको छ । त्यसपछि बहुमतको सरकार गठनका लागि ३० सांसदको हस्ताक्षर आवश्यक हुन्छ । ३० सांसदको हस्ताक्षर कांग्रेस नेतृत्वको गठबन्धनले संकलन गरिसकेको जनाइएको छ ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज बुधबार अपराह्न ४ बजे सकिँदैछ । सरकार गठनका लागि दिएको समयसीमा सकिन केही घण्टा मात्र रहँदा कांग्रेस नेतृत्वको गठबन्धनले नयाँ सरकार गठनका लागि आवश्यक ३१ जना सांसदको हस्ताक्षर पुर्याउन नसकेपछि जनमोर्चाका सांसदलाई कारवाही हुन लागेको हो ।
नयाँ सरकार गठनका लागि निर्णायक मानिएको जनमोर्चाका २ सांसदमध्ये १ जना सांसदले हस्ताक्षर गर्न मानेका छैनन् । जनमोर्चाको संसदीय दलका नेता समेत रहेका कृष्ण थापाले कांग्रेस नेतृत्वमा गठन हुने सरकारलाई समर्थन नगर्ने अडान लिएका छन् ।
गण्डकी प्रदेश सभामा एमालेका २७, नेपाली कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका ३, जसपाका २ र १ स्वतन्त्र सांसद रहेका छन् ।
हाल एमाले र १ स्वतन्त्र गरी २८ सांसद एकातिर तथा कांग्रेस, माओवादी र जसपाका गरी २८ जना सांसद अर्कोतिर छन् । दुवैतर्फ २८/२८ जना भएपछि सरकार गठनका लागि आवश्यक संख्या पुर्याउन दुबै पक्षलाई ३ सांसदको आवश्यकता देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।