काठमाडौं – नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा पार्टी सहभागी हुँदा समेत छुट्टै हिँडेर गण्डकी प्रदेशमा कांग्रेसका प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलविरुद्ध षड्यन्त्र गर्ने राष्ट्रिय जनमोर्चाका सांसदलाई १ घण्टे स्पष्टीकरण सोधिएको छ ।
कांग्रेसबाट प्रस्तावित मुख्यमन्त्री पोखरेललाई समर्थन नगर्ने जनमोर्चाका सांसद कृष्ण थापालाई १ घण्टे स्पष्टीकरण सोधिएको र जवाफ चित्तबुझ्दो नभए आजै कारवाही गरिनेछ ।
पार्टीको केन्द्रले कांग्रेस नेतृत्वमा गठन हुने नयाँ सरकारका लागि हस्ताक्षर गर्न सांसदहरूलाई निर्देशन र ह्वीप जारी गरेका बेला थापाले अटेरी गरिरहेका छन् । थापालाई आजै कारवाही गर्ने र कांग्रेस नेतृत्वमा बन्न लागेको सरकारका लागि बाटो खुला गरिदिने जनमोर्चाको तयारी रहेको छ ।
पार्टीको निर्णय पालना गर्न प्रदेश अध्यक्ष शंकर बरालले हिजो मंगलवार सांसद थापासँग १ घण्टा कुरा गरेपनि थापा नमानेपछि उनलाई आज बुधवार पार्टीले स्पष्टीकरण सोधेको छ ।
कूल ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा जनमोर्चाले आफ्ना एक सांसदलाई कारबाही गरी सांसदबाट हटाएमा सांसद संख्या ५९ हुने देखिएको छ । त्यसपछि बहुमतको सरकार गठनका लागि ३० सांसदको हस्ताक्षर आवश्यक हुन्छ । ३० सांसदको हस्ताक्षर कांग्रेस नेतृत्वको गठबन्धनले संकलन गरिसकेको जनाइएको छ ।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज बुधबार अपराह्न ४ बजे सकिँदैछ । सरकार गठनका लागि दिएको समयसीमा सकिन केही घण्टा मात्र रहँदा कांग्रेस नेतृत्वको गठबन्धनले नयाँ सरकार गठनका लागि आवश्यक ३१ जना सांसदको हस्ताक्षर पुर्याउन नसकेपछि जनमोर्चाका सांसदलाई कारवाही हुन लागेको हो ।
नयाँ सरकार गठनका लागि निर्णायक मानिएको जनमोर्चाका २ सांसदमध्ये १ जना सांसदले हस्ताक्षर गर्न मानेका छैनन् । जनमोर्चाको संसदीय दलका नेता समेत रहेका कृष्ण थापाले कांग्रेस नेतृत्वमा गठन हुने सरकारलाई समर्थन नगर्ने अडान लिएका छन् ।
गण्डकी प्रदेश सभामा एमालेका २७, नेपाली कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका ३, जसपाका २ र १ स्वतन्त्र सांसद रहेका छन् ।
हाल एमाले र १ स्वतन्त्र गरी २८ सांसद एकातिर तथा कांग्रेस, माओवादी र जसपाका गरी २८ जना सांसद अर्कोतिर छन् । दुवैतर्फ २८/२८ जना भएपछि सरकार गठनका लागि आवश्यक संख्या पुर्याउन दुबै पक्षलाई ३ सांसदको आवश्यकता देखिएको छ ।
यसअघि जनमोर्चाले समर्थन गर्ने निर्णय गरेपछि कांग्रेस, माओवादी र जसपाका २८ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै कांग्रेस दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई भाबी मुख्यमन्त्रीमा रूपमा प्रस्ताव गरेका थिए । तर मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि प्रस्ताव निर्णयार्थ पेश हुन सकेन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।