काठमाडौं - नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख एवं केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत वर्तमान कम्युनिस्ट सरकार भ्रष्टाचार र कोरोनाविरुद्धको खोपको कमिसनमा चुर्लम्म डुबेको बताएका छन् ।
अन्तर्राष्ट्रिय रेडक्रस दिवसका अवसरमा एक अपिल जारी गर्दै पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले केपी ओलीको सरकारले जनतालाई आशाभन्दा बढी निराशा दिएको बताएका हुन् ।
‘बेड, अक्सिजन, भेन्टिलेटर, भ्याक्सिन र स्वास्थ्यकर्मीहरूको पर्खाइमा टुलुटुलु हेरिरहेका छन् । तर, सरकार स्वास्थ्य सावधानी अपनाउनु भन्दा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा कमिसनखोरसँग मोलतोल गर्न रमाइरहेको छ । अब त भ्याक्सिनको झिनो आश गरेर बसेकाहरु पनि निराश हुन थाले,’ बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सरकारले ५० लाख खोप किन्न नसक्ने स्पष्ट पारिसकेको छ ।
सिंगापुर, ताइवान, हङकङ, दक्षिण कोरिया, न्युजिल्यान्ड जस्ता देशले कसरी कोरोना नियन्त्रण र रोकथाम गरे भन्ने विषयमा ओली सरकारले जान्न नचाहेको उल्लेख गर्दै बस्नेतले ओली सरकार ‘जनताको ज्यानभन्दा पनि कर असुल्ने कुरा महत्वपूर्ण हो’ भनेर त्यसतर्फ लागेको बताएका छन् ।
नेता बस्नेतले कोभिड–१९ र अन्य रोगहरुका कारण रगत अभाव नभएर कसैले पनि मृत्युवरण गर्न नपरोस् भनेर नेपाली कांग्रेसको खेलकुद विभागले गत असोजदेखि सुरु गरेको रक्तदान कार्यक्रमलाई विभागले फेरि सुरु गर्न लागेको उनले जानकारी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।