काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्को बैठकले ४ जनालाई नयाँ नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
विभिन्न ३ संवैधानिक आयोगमा रिक्त रहेको ४ पदमा पदपूर्तिका लागि आईतबारको परिषद् बैठकले निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकले लोक सेवा आयोगको अध्यक्षमा झापा जिल्लाको गौरादह घर भएका माधवप्रसाद रेग्मी सिफारिस गर्ने निर्णय गरेको छ । रेग्मी पूर्व सचिव समेत हुन् ।
बैठकले अख्तियार अनुसन्धान आयोगको रिक्त २ आयुक्तमा पूर्व सचिव डा. हरि पौडेल र दिलीप रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ ।
परिषद् बैठकले निर्वाचन आयोगको रिक्त सदस्यमा डा. वीरबहादुर राईलाई नियुक्त गर्न सिफारिस गरेको छ ।
संवैधानिक आयोगहरूमा रिक्त पदपूर्ति गर्न मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र बैठक) सम्बन्धी कार्यविधि संशोधन अध्यादेश केही दिनअघि जारी गरेकी थिइन् ।
सरकारले गत मंसिर ३० गते पनि अध्यादेशमार्फत नै संवैधानिक आयोगहरुमा पदाधिकारी तथा सदस्यहरु नियुक्तिको लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।