काठमाडौं – नेपाली कांग्रेसका लोकप्रिय नेता मीनकृष्ण महर्जनले कम्युनिस्ट पापीहरूले लाज, घिन, सरम सबै पचाइसकेकाले जनतालाई दुःख भइरहेको टिप्पणी गरेका छन् ।
कोरोना भाइरस संक्रमणको महामारीका कारण जनताको बेहाल भइरहेका बेला शासनसत्ता चलाइरहेका कम्युनिस्टप्रति आक्रोश व्यक्त गर्दै नेता महर्जनले जनताले भोगिरहेको महासंकटको श्रेय सरकारलाई जानेमा दुईमत नरहेको बताए ।
‘आजको महासंकट जुन हामी नेपालीले भोग्दै आइरहेका छौं, यसको श्रेय यो सरकारलाई जानेमा दुईमत नहोला । न बेड, न आईसीयू, न त अक्सिजन छ, न एम्बुलेन्स नै । व्यापारीसँगको साँठगाँठ र कमिसनको खेलले गर्दा समयमै खोप नपाउँदा आज यो भयाभय अवस्थाबाट गुज्रिन बाध्य छौं,’ नेता महर्जनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एकातिर ट्याक्टरमा बिरामी हाल्दै गरेको दृश्य देखिन्छ भने अर्कातिर यही कोभिडको बीच हेलिकप्टर चढेर उम्मेदवारी दिन पुग्छन् कम्युनिस्ट नेता । लाज, घिन, सरम सबै पचाइसकेका छन् यी पापीहरूले ।’
कमिसनको खेलोमेलोमा कोरोना विरुद्धको खोप ल्याउन ढिलाइ गर्ने केपी सरकार नै महामारीको दोषी रहेको नेता महर्जनले बताए । ‘यो कमिसनको खेलोमेलोले गर्दा आफ्नो ज्यान गुमाएका सबैको दोषी यो नालायक केपी सरकार हो भन्दा फरक नपर्ला । सत्ता र पावरकै सेरोफेरोमा रमाउने यी सामन्ती नेताहरूबाट यो देशको उन्नत भविष्य खोज्नु दिवा सपना मात्र हो । हिजो जसरी नेपाली जनताले विश्वास गरेर यी कम्युनिस्टहरूलाई लगभग दुईतिहाइ बहुमतका साथ भोट दिएका थिए, आज तिनै जनताहरू यी दुईतिहाइ सरकारलाई सत्तोसराप गरिरहेका छन् । अब जनता चेतिसकेका छन् ।’
कोरोना महामारीका बेला कम्युनिस्ट सरकार जनतालाई कसरी बचाउनेभन्दा पनि कमिसनतिर ध्यान दिइरहेको नेता महर्जनले आरोप लगाए । ‘कोभिड बिरामीहरूले हस्पिटलमा बेड पाएका छैनन्, बेड भए अक्सिजन छैन, हस्पिटल मालिकहरू यतिखेर यही मौका हो भनेर ५ वर्षमा हुने कमाइ एकै वर्षमा कमाइ हुने भनेर मख्ख छन् । अनि आफ्नो जीवन दाउमा राखेर २४ घण्टा खटिने नर्सको मासिक तलब १२ हजारदेखि १५ हजारसम्म । हस्पिटल मालिकले यतिसम्म कर्मचारीलाई शोषण गर्दा पनि सरकार मौन किन भन्दा त्यो हस्पिटल तिनै नेताको हस्पिटलमा शेयर हुन्छ । त्यसैले पनि पहुँचवालाको सन्तान राम्ररी उपचार पाउने भए, गरीब परिवारको छोराछोरी उपचार नपाएर मर्ने भए । के यही हो नेपाली जनताले खोजेको गणतन्त्र ?’
कोभिड बिरामीलाई अत्यावश्यक औषधि कालोबजारीमा धमाधम बिक्री भइरहेपनि सर्वसाधारण जनताले नपाइरहेको नेता महर्जनले गुनासो गरे । ‘कोभिड बिरामीलाई चाहिने औषधि धमाधम ब्याकबाट बिक्री भइरहेका छन् । सरकारले १/२ जना पक्राउ गरे जस्तो गर्छ । त्यस्ता दलालहरू सयौं छन् । कोभिड भ्याक्सिन खरिदमा ३५ करोड कमिसनमा ठाडै टोयटा कम्पनीका मालिक सुरज वैद्यको नाम मुछिँदा कानूनी दायरामा ल्याउनुको सट्टा सरकारबाट उल्टै प्रोत्साहित हुने काम भइरहेको छ । के नेपाली जनताले खोजेको गणतन्त्र यही हो ?’ उनले प्रश्न गरे, ‘यदि नेपाली जनताको जीवन बचाउने हो भने अविलम्ब यो सरकारको विकल्प खोज्न आवश्यक भइसकेको छ । होइन भने नेपाली जनता रोग र भोगले मृत्यु हुने निश्चित छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।