काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाएको गम्भीर कुरा गरे ।
संघीय संसद भवनको लोत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले भने, ‘ब्ल्याकमेल गर्ने संस्थाको रुपमा अख्तियारलाई स्थापना गरेको छ ।’
सन्दर्भ, प्रसंग नै नखुलाएर सभापति देउवाले पार्टी बैठकमा यस्तो कुरा किन गरे ? कांग्रेसको नेतृत्वमा ओलीविरुद्ध अधिकांश दलको गठबन्धन बनेका बेला सभापति देउवाबाट यस्तो प्रतिक्रिया आउनुलाई चासोका साथ हेरिएको छ ।
सभापति देउवाले ओली सरकारले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरी विपक्षीप्रति प्रतिशोध साँध्ने मनसायका साथ सरकार अघि बढेको बताएका छन् । अख्तियारले कांग्रेसका उपसभापति तथा सांसद विजयकुमार गच्छेदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी हाल निलम्बनमा छन् ।
सभापति देउवाले रिक्त उपसभामुख पदको निर्वाचन नगराएर सरकारले संवैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी समेत गरेका छन् ।
‘उपसभामुखको चुनाव अहिलेसम्म नगराइराखेर संवैधानिक प्रक्रिया अपुरो राखिएको छ । विरोधीलाई दुःख दिनका लागि मनपरी किसिमले अध्यादेश ल्याइएको छ,’ सभापति देउवाले बैठकमा भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।