काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको विपक्षी गठबन्धन मजबुत भइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिको गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस विज्ञप्ति जारी गरेका छन् ।
अध्यक्ष प्रचण्डले विज्ञप्ति निकाल्दै ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा नजान सबैमा आग्रह गरेका छन् । यसअघि सभापति देउवाले आफू बैठकमा नजाने घोषणा गर्दै अरुलाई पनि नजान आह्वान गरेका छन् ।
अध्यक्ष प्रचण्डले बैठकमा नजान आग्रह गरेपछि माओवादी पृष्ठभूमिका सभामुख अग्निप्रसाद सापकोटा बैठकमा नजाने स्पष्ट भएको छ । यसअघि समेत सापकोटा विवादित बैठकमा जाने गरेका थिएनन् ।
प्रधानमन्त्री ओलीले भोलि आईतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज शनिवार विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्षका नेता तथा सभामुखले बैठकमा भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारलाई आग्रह गरेका छन् ।
संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको प्रचण्डको ठहर छ ।
प्रचण्डले विज्ञप्तिमा भनेका छन्, ‘संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरूसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।