काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगनकुमार थापा जनपक्षीय कामका कारण पटक–पटक चर्चामा आउँछन् । संसदको कामकारवाहीमा सक्रिय भूमिका होस् वा आफ्ना मतदाताको सेवामा थापा उदाहरणीय सांसद हुन् ।
कोरोना भाइरस संक्रमणको महामारीका बेला समेत सांसद थापाले उदाहरणीय काम गर्दै देशभरका सांसदले सिक्नुपर्ने काम गरेका छन् । देशका कतिपय ठाउँमा कोरोना संक्रमितले सामान्य परामर्श समेत नपाएर अकालमै ज्यान गुमाउनुपरिरहेको अवस्थामा सांसद थापाले व्यक्तिगत पहलमा संक्रमितलाई लक्षित गरी ‘होम आइसोलेसन सेवा’ सञ्चालन गरेका छन् । सांसद थापा निर्वाचित काठमाडौंको ४ नम्बर निर्वाचन क्षेत्रका जनताले यो सेवाबाट लाभ लिन सक्नेछन् ।
कोरोना भएर घरमै आइसोलेसनमा बसेका संक्रमितका लागि शुक्रवारबाट सेवा सुरु गरिएको छ । ‘हेल्थ एट होम’सँगको सहकार्यमा प्रतिनिधिसभा सांसदको कार्यालय काठमाडौं क्षेत्र नम्बर ४ ले सेवा सुरु गरेको सांसद थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
सांसद थापाको कार्यालयमार्फत सम्पर्कमा आएका होम आइसोलेसनमा रहेका व्यक्तिलाई ‘हेल्थ एट होम’ टीमले आवश्यक चिकित्सकीय परामर्श दिने जनाइएको छ । आइसोलेसनको अवधिभर आवश्यक परामर्श दिनुका साथै स्वास्थ्य सामग्री समेत उपलब्ध गराउने सांसद थापाले घोषणा गरेका छन् ।
संक्रमण भई होम आइसोलेसनमा रहेकाले व्यक्तिले सेवा लिनका लागि सांसदको कार्यालयले उपलब्ध गराएका मोबाइल नम्बरमा एसएमएस गर्नुपर्नेछ, लगत्तै सांसदको कार्यालयबाट टेलिफोन गरेर आवश्यक सेवा, परामर्श, स्वास्थ्य सामग्री उपलब्ध गराइने सांसद थापाले जानकारी दिए ।
सेवाग्राहीले ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना (वडा र टोल खुल्ने गरी) एसएमएस गर्नुपर्ने र प्राप्त एसएमएसका आधारमा ‘हेल्थ एट होम’का सदस्यले होम आइसोलेसनमा रहेकालाई सम्पर्क गर्ने जनाइएको छ ।
‘घरमा आइसोलेसनमा रहेकाहरूलाई उपयुक्त सल्लाह र परामर्श पाएमा अस्पताल जान पर्नेहरूका लागि समयमा सुचित गर्न सकिन्छ,’ सांसद थापाले भनेका छन्, ‘अस्पताल जानु नपर्नेका लागि आवश्यक परामर्शले अस्पतालको चाप घटाउन सहयोग पुग्छ ।’
काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाका स्थानीय सरकारसँग सहकार्य गर्दै आइसोलेसन सेन्टर बनाउने कार्यमा समेत जुटिरहेको थापाले बताए । ‘आ–आफ्नो ठाउँबाट आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ । गल्ती नगर्न र सच्याउनका लागि संघको सांसद भएकाले सरकारलाई दबाब दिइरहेको छु,’ उनले भने, ‘समस्या मात्रै देखाइरहेको छैन, विकल्पहरू पनि सुझाइरहेको छु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।