काठमाडौं – एकलौटी कार्यशैलीका कारण राष्ट्रिय राजनीतिमा एक्लिँदै गएका नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धक्का लाग्ने गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्काे निर्णय लिएका छन् ।
यसअघि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय पार्टीबाटै गराएका सभापति देउवाले अब ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने निर्णय लिएका छन् ।
अध्यादेशमार्फत् संवैधानिक परिषद्सम्बन्धी ऐनको संशोधन गरी लोकतान्त्रिक अभ्यासमा ओली सरकारले प्रहार गरेकाले बैठकमा सहभागी नहुने निर्णय लिँदै सभापति देउवाले अन्य सदस्यलाई समेत बैठकमा सहभागी नहुन आह्वान गरेका छन् ।
आज शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले भने, ‘संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छु ।’
ओलीले संविधानको आधारलाई नै भत्काउने काम गरेको बताउँदै देउवाले कानून निर्माण र संशोधन गर्ने संसदको आधारभूत, मौलिक एवं अविछिन्न अधिकारलाई नै कुण्ठित गरी अध्यादेशमार्फत संविधानको संरचना नै भत्किने अध्यादेश जारी गर्ने काम भएको आरोप लगाएका छन् ।
विज्ञप्तिमा उल्लेख छ, ‘संवैधानिक परिषद् सम्बन्धी ऐनमा अध्यादेशमार्फत् संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरीत, संसदीय मूल्य, मान्यता प्रतिकूल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यलाई आह्वान गर्दछु ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।