काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको शरणमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रित्तो हात फर्किनुपरेको छ ।
सरकारको काम कारवाहीका कारण अहिले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने कांग्रेसले स्पष्ट पारेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार भएको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकमा कांग्रेसले ओली सरकारलाई समर्थन गर्न सकिने अवस्था नरहेको जनाएको छ । ओली सहयोगको आग्रह गर्दै देउवाको शरणमा पुगेका थिए ।
बैठकमा भएको छलफलबारे बताउँदै कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली सहितको टीम र हाम्रा सभापति शेरबहादुर देउवासहित कांग्रेसका नेताहरूको बैठक सौहार्दपूर्ण रूपमा बस्यो । मूलभूत रूपमा उहाँले विश्वासको मत लिइरहेको छु । कांग्रेसको सहयोगको अपेक्षा गर्नुभयो, हामी विपक्षी पार्टी हो, तपाईलाई सहयोग गर्नसक्ने अवस्था छैन भन्ने कुरा राख्यौं ।’
बैठकमा प्रधानमन्त्री ओलीले लोकतन्त्रको रक्षाका लागि विगतमा सहकार्य गरेको भन्दै फेरि पनि सहकार्यका लागि आग्रह गरेका थिए । ‘हाम्रो उद्देश्य नै उहाँलाई असफल बनाउने भनेपछि सहयोग गर्छौं भन्ने कुरै भएन,’ उनले भने ।
कांग्रेससँगको छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसहित उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र एमाले संसदीय दलका उपनेता समेत रहेका संविधान सभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ सहभागी रहेका थिए ।
कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्ण सिटौला लगायत रहेका थिए । देउवालाई भेट्न ओली सहितका नेताहरू अपराह्न ४ बजे बूढानीलकण्ठ पुगेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।