काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्दै नेकपा एमालेमा लागेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई हराउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले उम्मेदवार तय गरेको छ ।
कांग्रेस–माओवादी सहितको विपक्षी गठबन्धनले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउँदैछ ।
एमालेको खनाल–नेपाल पक्षका देवकोटालाई कांग्रेस र माओवादीको समेत समर्थन रहने भएको छ । मंगलवार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपेन्द्र यादवबीचको छलफलबाट देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति बनेको छ ।
माओवादी पार्टी परित्याग गरी नेकपा एमालेमा लागेपछि माओवादी केन्द्रले बादललाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेको हो । एमालेले निर्वाचनमा थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । विपक्षी गठबन्धनले थापाको प्रतिद्वन्द्वीका रूपमा देवकोटालाई अगाडि सार्ने भएको छ ।
लुम्बिनी प्रदेशमा एमालेको सांसदबाट राजीनामा दिई कांग्रेस प्रवेश गरेका नेता दृगनारायण पाण्डेलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएपछि बागमतीमा खनाल–नेपाल समूहका देवकोटालाई उम्मेदवार बनाइएको राष्ट्रिय सभाका माओवादी संसदीय दलका नेता दिनानाथ शर्माले बताएका छन् ।
२०७६ असारमा देवकोटाले बागमती प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए । विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका देवकोटा वित्तीय संघीयता व्यवस्थापनका विज्ञ हुन् ।
देवकोटाले अर्थशास्त्रमा एमए, आर्थिक विश्लेषणमा एमएसी र विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । स्थानीय निकाय वित्तीय आयोगमा लामो समय विज्ञ भई काम गरेका देवकोटाले प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगमा समेत विज्ञ सल्लाहकारका रूपमा काम गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।