काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएर गुट–उपगुट विकसित भएका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पार्टीमा ठूलो विद्रोह भएको छ ।
एमालेका बहालवाला प्रदेशसभा सांसद नै पार्टी र पद त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । यसको एक मात्र कारण मुख्यमन्त्री पोखरेल रहेका स्रोतले जनाएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका नेकपा एमाले कपिलवस्तुका सांसद दृगनारायण पाण्डे आज सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनी कांग्रेसमा प्रवेश गरेपछि लुम्बिनी प्रदेश सभामा नेकपा एमाले कपिलवस्तुका सांसद दृगनारायण पाण्डेको स्थान रिक्त भएको जनाइएको छ ।
लुम्बिनी प्रदेशसभा सचिवालयले सोमबार एक सूचना प्रकाशित गरेर पाण्डेको स्थान रिक्त रहेको जनाएको छ ।
नेता पाण्डेलाई नेपाली कांग्रेस उम्मेदवारका रुपमा ४ दलीय गठबन्धनले राष्ट्रिय सभामा पठाउने निर्णय समेत गरेको छ ।
सोमबार विपक्षी गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गरेर चारै दलका नेताले खादा लगाएर पाण्डेलाई गठबन्धनमा स्वागत गरेका छन् । नेता पाण्डेलाई राष्ट्रिय सभाको साझा उम्मेदवार बनाउने घोषणा गरिएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले पाण्डे पुरानै घरमा फर्किएको बताए । जेठ ६ गते हुने राष्ट्रिय सभाको चुनावमा उम्मेदवार बनाउने र चारै दलको गठबन्धनले समर्थन गर्ने निर्णय भएको उनले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।