काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने मिसनमा छन् । तर प्रचण्डका मिसन सफल हुन सकेका छैनन् ।
पछिल्लोपटक प्रचण्डले नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टी (जसपा) लाई मिलाएर ओलीलाई हटाउँदै नयाँ सरकार बनाउन खोजेका छन् । तर शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गरेर बोलेका कुराले प्रचण्डलाई ठूलो धक्का लागेको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले वर्तमान सरकारको विकल्प दिनका लागि आवश्यक संख्या नपुगेको स्पष्ट पारे । कोरोना महामारी सम्बन्धी पार्टीको धारणा र सरकारको ध्यानाकर्षण गराउनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा सभापति देउवाले प्रधानमन्त्री ओलीको विकल्प खोज्न सांसदको संख्या नपुग्ने बताए ।
‘अबको निकासका लागि हामीसँग संख्या पुग्दैन । जसपाका कारण वैकल्पिक सरकार गठन गर्न सकिएन । कांग्रेस र माओवादी मिल्दा मात्रै वैकल्पिक सरकार गठनका लागि संख्या पुग्दैन,’ देउवाले भने, ‘संख्या पुग्नुपर्छ यहाँ त । संख्या नपुगिकन प्रधानमन्त्री हुन्छु भन्ने चाहेर हुन्छ त ?’
प्रचण्डले काठमाडौंमा धेरै दौडधुप गरेपनि ओलीविरुद्ध बहुमत संख्या पुर्याउन सकेका छैनन् । जसपामा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले प्रचण्डलाई सहयोग गर्ने भएपनि सिङ्गो जसपा नहुँदा नयाँ सरकार बन्न सक्दैन । जसपामा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री ओलीका पक्षमा देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।