काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस संक्रमणको रोकथामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्ती दिएका छन् ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले कोरोना संक्रमणको महामारी भयावह हुन सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
‘छिमेकी राष्ट्र भारतमा एकैदिन लाखौं व्यक्ति संक्रमित र हजारौंको संख्यामा मृत्युको तथ्यांकले पनि खुल्ला सीमा रहेको हाम्रो देशको स्थिति भयावह बन्नेतर्फ सचेत रहनुपर्ने भएको छ,’ प्रचण्डको विज्ञप्तिमा उल्लेख छ, ‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ । म सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु । महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रसँग पनि अपिल गर्दछु ।’
विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रूपमा सचेत गराइरहेको सन्दर्भमा तीनै तहका सरकार तथा पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यलाई स्वयंसेवीका रूपमा महामारी विरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन प्रचण्डले आग्रह गरेका छन् ।
‘कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रमोर्चामा खटिनु हुने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुमा उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दछु । सम्पूर्ण जनसमुदायमा कोभिड–१९ विरुद्धका स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी उच्च सतर्कता अपनाउन विशेष अनुरोध समेत गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।