काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ ।
आईतबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने प्रयासलाई जारी राख्ने निर्णय गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले ओली सरकारको विकल्प खोज्न पार्टीले गर्दै आएको प्रयासलाई जारी राख्ने निर्णय गरेको नेता अर्जुननरसिंह केसीले बताएका छन् ।
बैठकमा ओली सरकारको विकल्प दिनका लागि कांग्रेसको नेतृत्वमा हुँदै आएको पहल र छलफल सकारात्मक दिशातिर अघि बढेको निष्कर्ष समेत निकालेको छ ।
कांग्रेसले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय लिएपछि नेकपा माओवादी केन्द्र सहितका दलहरुसँग संवाद गर्दै आएको छ । कांग्रेसले पटक–पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका नेताहरूसँग समेत छलफल गरेको छ ।
नेपाली कांग्रेसले ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनका लागि हस्ताक्षर अभियान पनि चलाएको छ । ओली विरुद्धको हस्ताक्षर अभियानले छिट्टै पूर्णता पाउने कांग्रेस नेताहरूले जनाएका छन् ।
कांग्रेस पदाधिकारी बैठकले भोलि सोमवारका लागि तय भएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ । सोमवार केन्द्रीय सदस्यहरूको कोभिड परीक्षण गर्ने र मंगलवार बैठक बस्ने केसीले जानकारी दिएका छन् ।
बैठकमा अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेहरूको उचित व्यवस्थापन गर्ने, विदेशमा रहेका पार्टी महाधिवेशनका मतदातालाई अब समावेश नगर्ने लगायतका विषयमा समेत छलफल भएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।