काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा खेलकुद विभाग सचिव मीनकृष्ण महर्जनलाई आउँदै गरेको १४ औं महाअधिवेशनमा जिल्ला सभापति पदमा उम्मेदवारी दिन ललितपुर जिल्लाका नेता तथा कार्यकर्ताको चर्को दबाब परेको छ ।
कार्यकर्ताको चाहना र दबाब अनुरूप नेता महर्जनले जिल्ला सभापति उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
२०४६ सालदेखि कांग्रेस राजनीतिमा होमिएका महर्जन दोस्रो जनआन्दोलनमा खेलाडीको नेतृत्व गरी आन्दोलनमा होमिएका थिए । २०५५ सालमा तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी लिई १० वर्षसम्म तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारीका साथ उनले खेलकुद विभाग प्रमुख समेतको जिम्मेवारी पाएका थिए ।
नेता महर्जनले २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनमा काठमाडौं उपत्यकाको इन्चार्जको जिम्मेवारी समेत पाएका थिए । आन्दोलनका क्रममा महर्जनका शिष्यहरू रवि महर्जन, विनोद महर्जन गम्भीर घाइते भई हस्पिटलमा भर्ना समेत भएका थिए भने कयौं खेलाडी आन्दोलनका क्रममा प्रहरीद्वारा पक्राउ समेत परेका थिए ।
महर्जन खेल क्षेत्रमा हस्तीको रूपमा परिचित छन् । १२ वर्षको उमेरदेखि कराँते खेलमा लागेका महर्जनले कराँते खेलमा राष्ट्रिय प्रतियोगितामा करीब २ दर्जन स्वर्ण र अन्तर्राष्ट्रिय प्रतियोगितामा १ दर्जन स्वर्ण पदक हासिल गरेका छन् ।
नेता महर्जन कराँतेका अन्तर्राष्ट्रिय रेफ्री समेत हुन् भने २०६६ सालमा मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्ष समेत भएका थिए । महर्जन १ महिना राष्ट्रिय खेलकुद परिषद्को निमित्त सदस्य सचिव समेत भएका थिए ।
महर्जन निमित्त सदस्य सचिव हुँदा एमाले सरकारद्वारा पीडित भएका राष्ट्रिय खेलकुद परिषद्का दुर्गम क्षेत्रमा रहेका कांग्रेस समर्थित कर्मचारीहरू १ हप्तामा करीब ६३ जना केन्द्र र सदरमुकाम सरुवा गरेर न्याय दिलाएका थिए । त्यसैले पनि महर्जनलाई खेलकुद क्षेत्रमा महानायकको रूपमा लिने गरिन्छ ।

महर्जन सामाजिक क्षेत्रमा पनि निकै सक्रिय देखिन्छन् । गाउँका दुःखी, गरीब, निमुखा जनतालाई कुनै दुःख र समस्या पर्दा उनै नेता महर्जनलाई सम्झिने गर्छन् । महर्जनले दुःखी, गरीब, निमुखा जनताको घाउमा मल्हम लगाउने गरेका छन् ।
महर्जन ललितपुर जिल्लामा निकै नै लोकप्रिय मानिन्छन् । कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन भदौ महिनाभित्र गर्नुपर्ने हुन्छ, मध्यावधि निर्वाचन मंसिर महिना हुने संकेत देखिएको छ । ‘चुनावमा युवा परिचालनको आवश्यकता पर्छ, जिल्लाभर व्यापक युवा जमातको आवश्यकता पर्छ । त्यो खुबी मीनकृष्ण महर्जनसँग भएकाले अब जिल्ला सभापतिमा मीनकृष्ण महर्जन निर्विकल्प हुनुहुन्छ,’ नेपाली कांग्रेस गोदावरी नगर सभापति सुरज श्रेष्ठले भने ।
नेविसंघ ललितपुर अध्यक्ष तथा नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ सचिव मथुरा शर्मा भन्छन्, ‘२०७० सालमा जसरी नेपाली कांग्रेसले ललितपुर ३ वटै क्षेत्र जितेको थियो, त्यो इतिहास पुनः दोहोर्याउनका लागि पनि ललितपुर जिल्ला सभापतिमा मीनकृष्ण महर्जनको आवश्यकता रहेको छ ।’
तरुण दल ललितपुर क्षेत्र नम्बर २ अध्यक्ष नविन्द्रदेव सिंहले ललितपुर जिल्लाका हरेक युवा मीनकृष्ण महर्जनसँग जोडिएका बताए । ‘सबै युवाहरू कांग्रेस पार्टीसँग मात्र आवद्ध छैनन् । युवालाई कांग्रेसमा आवद्ध गराउनका निम्ति र तानाशाह कम्युनिस्ट सरकारलाई आउँदो निर्वाचनमा परास्त गर्नका निम्ति पनि मीनकृष्ण महर्जनलाई जिल्ला सभापति जिताउनु आवश्यक छ,’ अध्यक्ष सिंहले भने ।

तरुण दल ललितपुर क्षेत्र नम्बर ३ अध्यक्ष सुन्दर महर्जन भन्छन्, ‘मीनकृष्ण दाइसँग हरेक कार्यकर्ताको राजनीतिक भविष्य जोडिएको छ, यसमा हाम्रो पनि स्वार्थ र सम्बन्ध छ । यदि मीनकृष्ण महर्जनलाई सभापति बनाउन सकेमा विपक्ष पार्टीहरूको मनोबल गिर्ने र ललितपुर जिल्लामा कांग्रेसको संगठन पनि निकै मजबुत हुने भएकाले मीन कृष्ण महर्जन सभापति हुनु आवश्यक छ र सभापति हुने निश्चित पनि छ ।’
नेपाली कांग्रेस बागमती गाउँपालिका सभापति तथा बागमती गाउँपालिका प्रवक्ता, वडाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले ललितपुरमा मीनकृष्ण महर्जनले पार्टीको नेतृत्व लिनुपर्ने आवश्यकता रहेको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।