काठमाडौं - प्रधानमन्त्री केपी ओली यतिबेला जुन ढंगले अघि बढिरहेका छन्, त्यो देखेर राजनीतिक विश्लेषकहरू नै अचम्ममा परेका छन् ।
उनको अहिलेको गतिविधिबारे ओली आफैंले पनि अनुमान गर्न नसकेको बताइन्छ । वामपन्थी भएर रामपन्थी विचारधारा अंगाल्न पुगेका ओलीले आफ्नो कुर्सी जोगाउन जे जे हर्कत गर्दै गएका छन्, त्यसले आगामी निर्वाचनमा एमालेलाई सखाप पार्ने विश्लेषण हुन थालेको छ ।
तर, उनी भने निश्चिन्त भएर अघि बढेका छन् । ओलीको अहिलेको गतिविधि आफ्नो घरमा आगो लगाएर अर्काको घरमा बास माग्न खोजे जस्तो भएको देखिएको छ ।
आफ्नो दलका २७ सांसदलाई पार्टीबाट निकालेर ओलीले जसपाका झन्डै २० सांसदलाई फकाउँदै छन् । जबकि ओलीलाई साथ दिन जसपाको सिंगो नेतृत्व तयार छैन ।
आफ्नो दलका दुई दर्जनबढी सांसदलाई कारवाहीको स्पष्टिकरण मागेका एमाले अध्यक्ष ओलीले जनता समाजबादी दलका सांसदहरुलाई आफ्नो कित्तामा राख्न उसले उठाउँदै आएका सबै माग पूरा गरिदिने बाचा गरेका छन् ।
उनले जसपाको मागअनुसार नेता–कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको प्रक्रिया यसै साताबाट कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका हुन् । जसपा नेता राजेन्द्र महतोले प्रधानमन्त्रीसँग भएको सहमतिअनुसार सरकारले जिल्ला अदालत र स्थानीय प्रशासनमा विचाराधीन रहेका मुद्दालाई फिर्ता गर्ने, फैसला भइसकेका हकमा सजाय मिनाहा गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् ।
सरकारले सवै पूरा गरेवापत जसपाले सके सरकारमा सहभागिता जनाउनुपर्ने, नसके बाहिरबाट समर्थन, त्यो पनि सम्भव नभए तटस्थ बस्ने विकल्पमध्ये एक छान्नुपर्ने प्रस्ताव प्रधानमन्त्रीले गरेका छन् ।
यी तिन विकल्प मध्ये जसपाले एक छानेमा सदनबाट नयाँ सरकार बन्न सक्दैन । तटस्थ बस्ने विकल्प रोजे मुलुक निर्वाचनमा जाने निश्चित देखिन्छ । सोही कारण ओलीले चाँडै निर्वाचनको घोषणा गर्ने र माधव पक्षलाई कारबाही गरेर आफू निकटलाई टिकट दिने तयारी थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।