काठमाडौं – चैत २० गते बसेको केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा अरुचि देखाएको छ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा अन्य दल सहितको गठबन्धन बनाएर सरकार गठनको पहल गर्ने निर्णय गरेको भए पनि संख्या सुनिश्चित नभएको भन्दै कांग्रेसले सत्ताको नेतृत्व गर्न अरुचि देखाएको छ ।
सरकारको विकल्प खोज्नुपर्ने विषयलाई एजेन्डा बनाउनुपर्ने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको अडानपछि सभापति शेरबहादुर देउवाले चैत २० गतेको बैठकबाट रुचि नहुँदा–नहुँदै पनि निर्णय गराएका थिए ।
त्यसपछि नेपाली कांग्रेसले गठबन्धन बनाउने विषयमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल गरेको थियो । छलफलमा सहभागी जसपाका नेता महन्थ ठाकुरले समेत कांग्रेसलाई सत्ताको नेतृत्व गर्न रुचि नभएको बताएका छन् ।
सोमवार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सरकार गठनको विषय प्रवेश नै नभएपछि कांग्रेसको सत्ता अरुचि झनै प्रष्ट भएको छ । कांग्रेसकै नेताले समेत हाल कांग्रेसले निर्णय गर्दैमा सरकार बन्ने अवस्था नरहेको तर प्रतिपक्ष सधैं सरकारको नेतृत्वका लागि प्रयासरत रहने बताउँदै आएका छन् ।
नेपाली कांग्रेसका सभापति देउवा स्वयंले समेत माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण सरकार गठनको विषय ओझेलमा परेको बताएका छन् ।
देउवाले औपचारिक कार्यक्रममा नै माओवादी केन्द्रले सरकार गठनका लागि पहिले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्यो नि भन्दै सरकारलाई माओवादीले दिएको समर्थनकै कारण सरकारबाट ओलीलाई बिदा गर्न समस्या भएको बताएका छन् ।
जसपा पनि कुन र कस्तो सहमतिमा नयाँ सत्ता गठबन्धनमा सहभागी हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । हाल जसपाको झुकाव कांग्रेससँग भन्दा बढी प्रधानमन्त्री ओलीको दल नेकपा एमालेतर्फ देखिएको छ ।
नेपाली कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी बैठकमार्फत सरकारको नेतृत्वका लागि पहल गर्ने निर्णय भएपनि संख्या पर्याप्त नरहेको बताएका छन् ।
‘सरकारको नेतृत्वका लागि पहल गर्ने निर्णय भएको हो तर संख्या छैन, संख्या कसरी सुनिश्चित गर्ने भन्ने मूल कुरा हो,’ नेपाली कांग्रेसका सहमहामन्त्री महतले भने ।
जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेसको निर्णयलाई सकारात्मक रुपमा लिएको भन्दै प्रतिगमनविरुद्ध आन्दोलनमा उभिएका शक्ति एक ठाउँमा उभिएर नयाँ सरकार गठन गरिने बताएका छन् । तर उनको दलभित्रको विवादका कारण समेत सत्ता गठबन्धनमा अलमल हुँदै आइरहेको छ ।
नेकपा माओवादी केन्द्रले समेत मंगलवार बसेको केन्द्रीय कमिटी बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिन पत्र मात्रै पठाउन बाँकी रहेको भन्ने प्रतिक्रिया दिएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।