काठमाडौं - माओवादी केन्द्रलाई ध्वस्त बनाएका प्रधानमन्त्री केपी ओलीले अहिले जसपामा ध्यानकेन्द्रित गरेका छन् ।
माओवादी केन्द्रका १६ सांसद र नाम चलेका नेता कार्यकर्तालाई आफ्नो पार्टी एमाले प्रवेश गराएर पुष्पकमल दाहाल प्रचण्डको शेखी झारेका ओलीले चाँडै बाबुराम भट्टराई र उपेन्द्र यादवलाई त्यही हालतमा पुर्याइदिने भएका छन् ।
राजनीतिमा जोसँग बढी निकटता हुन्छ वा गरिन्छ, त्यसमा केही न केही स्वार्थ हुन्छ नै । अहिले ओली जसपासँग निकट हुनुको कारण सत्ता टिकाउने स्वार्थ मात्रै हो । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीलाई छिन्नभिन्न बनाउने खेल खेलेका छन् ।
त्यसको सुरुवात लुम्बिनी प्रदेशबाट सुरु भइसकेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउने माओवादी केन्द्रको खेलमा जसपा पनि सहभागी भएपछि ओलीकै निर्देशनमा लुम्बिनी जसपा विभाजित बनाइएको छ ।
मुख्यमन्त्री पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनजनासहित जसपाका चार सांसदलाई थपेर सोमबार नै मन्त्रिपरिषद् विस्तार गरेपछि रडाको मच्चिएको छ ।
प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको दुई घण्टा नबित्दै पोखरेलले जसपाका विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई मन्त्री बनाएका हुन् । यो विषयले जसपा स्पष्ट दुई चिरामा विभक्त भएको छ ।
महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँगको सत्ता सहकार्यमा खुसी देखिएका छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव आक्रोशित भएका छन् । मन्त्री बनेका चारजनालाई कारबाही गर्ने कि नभन्ने विषयले नै जसपा विभाजन हुने भएको छ ।
सो विषयमा स्पष्टीकरण सोध्ने कि नसोध्ने, कसरी कारबाही गर्ने भन्ने अन्योल देखिएको छ । केन्द्रमा ओली सरकार ढाल्ने खेल थाहा पाएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले प्रदेशमै जसपा फुटाउन लागेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।