काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अमेरिकी सहयोग एमसीसीलाई रोकेर राखेकोप्रति असन्तुष्टि जनाएपछि प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले जवाफ फर्काउँदै कसैको दबाब र प्रभावमा परेर काम नगर्ने अडान लिएका छन् ।
नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनमा निर्वाचित पदाधिकारीको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पदीयको जिम्मेवारीमा रहँदासम्म पदको ख्याल गरेर काम गर्ने अडान लिए ।
बालुवाटारमा शनिबार आयोजित सर्वदलीय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सभामुखले एमसीसी परियोजना संसदमा रोकेर राखेकोप्रति असन्तुष्टि जनाउँदै सभामुखको आलोचना गरेका थिए ।
‘जतिखेरसम्म म सभामुखको जिम्मेवारीमा रहन्छु, त्यसबेलासम्म म देश र जनताको पक्षमा काम गर्नेछु, कसैको दबाबमा पर्दिनँ, मेरालाई पद ठूलो होइन, देश र जनताको विरुद्ध कुनै निर्णय गर्दिनँ, जोखिम मोल्न तयार छु, त्याग गर्न तयार छु,’ उनले भने ।
प्रधानमन्त्री ओलीलाई सभामुख सापकोटाले कसैको दबाब र प्रभावमा परेर काम नगर्ने सांकेतिक रुपमा जवाफ दिएका छन् ।
‘केहीलाई सधैं भ्रममा राख्न सकिन्छ तर सबैलाई सधैं भ्रममा राख्न सकिँदैन, अहिलेको राजनीतिक अवस्था टक्कर लिने दृष्टिकोणमा आधारित छ,’ उनले भने ।
तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने सभामुख सापकोटाले एमसीसी अगाडि नबढाएकोमा प्रधानमन्त्री ओली असन्तुष्ट रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।