काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री एवं पूर्व गृह, युवा खेलकुद तथा संस्कृति मन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय किक बक्सिङ प्रतियोगिता सम्पन्न गरेकोमा बधाई दिएका छन् ।
कांग्रेसका दुवै शीर्ष नेताले नेपाली कांग्रेस युवा नेता मीनकृष्ण महर्जन र ललितपुर किक बक्सिङ संघ अध्यक्ष, कार्यक्रमका सभापति पूर्व राष्ट्रिय च्याम्पियन विनोद महर्जनलाई निजी निवासमै बोलाएर भव्य रूपमा राष्ट्रिय किक बक्सिङ प्रतियोगिता सम्पन्न गरेकोमा बधाई दिएका छन् ।
नेता महर्जनको संयोजकत्वमा गोदावरी नगरपालिकाको चापागाउँमा चौथो वीर गणेशमान सिंह स्मृति खुला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको थियो । ३ दिनसम्म चलेको प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कराँते, तेक्वान्दो, उसु बक्सिङ, मुआई थाई, फूल कन्ट्याक्ट कराँते, आईटीएफ, रेज क्लब राष्ट्रिय किक बक्सिङ लगायत १३ खेलले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा २८८ जना खेलाडीले भाग लिएका थिए । प्रतियोगितामा ६ स्वर्ण पदकसहित नेपाली सेनाको टीम च्याम्पियन बनेको थियो । प्रतियोगितामा ५ स्वर्णसहित सशस्त्र प्रहरी दोस्रो टीम च्याम्पियन बनेको थियो । खेलमा २ स्वर्णसहित रेज क्लब तेस्रो टीम च्याम्पियन बनेको थियो ।
प्रथम टीम च्याम्पियनलाई १ लाख रुपैयाँ, दोस्रो टीम च्याम्पियनलाई ५० हजार रुपैयाँ र तेस्रो टीम च्याम्पियनलाई २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
प्रत्येक तौल समूहमा प्रथम हुने खेलाडीलाई जनही ३० हजार, दोस्रो हुने खेलाडीलाई १५ हजार र तेस्रो हुने २ जना खेलाडीलाई जनही ८/८ हजार रुपैयाँका दरले नगद पुरस्कार, मेडल, ट्रफी प्रदान गरिएको थियो ।
नेपाली कांग्रेस खेलकुद विभाग तथा ललितपुर किक बक्सिङले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको उद्घाटनमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र समापनमा महामन्त्री, पूर्व गृह, युवा खेलकुद तथा संस्कृति मन्त्री पूर्णबहादुर खड्का प्रमुख अतिथि रहेका थिए ।


कार्यक्रमका विशेष अतिथिहरू नेपाली कांग्रेस केन्द्रीय सदस्य, पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, खेलकुद विभाग प्रमुख पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, तरुण विभाग प्रमुख पूर्वमन्त्री शंकर भण्डारी, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समेत महर्जनको खुलेर प्रशंसा गरेका थिए ।

नेता महर्जन राष्ट्रिय खेलकुद परिषद् पूर्व कोषाध्यक्ष र कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी, पूर्व अन्तर्राष्ट्रिय रेफ्री समेत हुन् । नेता महर्जन खेलकुदको हस्तीको रूपमा परिचित छन् । प्रतियोगिता नेपालमा भएको १३ औं सागभन्दा तामझाममा कम थिएन ।

प्रतियोगितामा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिलाई धिमेबाजासहित आयोजकले भव्य स्वागत गरेका थिए । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण नेपालमा खासै प्रतियोगिता सञ्चालन नभएका बेला नेता महर्जनको सक्रियतामा भएको प्रतियोगिता हजारौं दर्शकले प्रत्यक्ष रूपमा खेल हेर्ने अवसर पाएका थिए ।

स्वागत मन्तव्य दिने क्रममा नेता महर्जनले भने, ‘यस्ता प्रतियोगिताहरू नेपाल सरकारले गर्नुपर्थ्यो तर खेलाडीहरूको स्तरोन्नतिको निमित्त यत्रो प्रतियोगिता गर्दा सरकार खेलकुद मन्त्रालय र खेलकुद परिषद्ले खासै सहयोग गरेन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।