काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन् ।
प्रचण्ड ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न पुगेका बेला राजनीतिक विषयमा छलफल गर्नुपर्ने भन्दै ओलीले फोन गरेका छन् ।
‘मलाई प्रधानमन्त्री ओलीले यहाँ आउँदै गर्दा राजनीतिक विषयमा छलफल गर्नुपर्ने भन्दै फोन गर्नुभयो । मैले यो क्षेत्रको बाटो निर्माण छिटो गरिदिन उहाँलाई भनेको छु,’ प्रचण्डले कार्यक्रममा भने ।
प्रतिनिधिसभा विघटनपछि ओली र प्रचण्डबीच तिक्ततापूर्ण सम्बन्ध रहेको छ । दुवै अध्यक्षले सार्वजनिक कार्यक्रममै एकअर्कामाथि कडा प्रहार गर्ने गरेका छन् ।
नेपाली कांग्रेससँग मिलेर केन्द्रमा समेत नयाँ गठबन्धन निर्माणको कसरत गर्दै प्रदेश सरकारमा समेत हेरफेरलाई तीब्रता दिएपछि प्रधानमन्त्री ओलीले प्रचण्डसँग संवाद गर्न खोजेको जनाइएको छ । कर्णाली प्रदेशमा एमालेले समर्थन फिर्ता लिएपछि आज शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदैछन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीयता समाप्त पार्न केही शक्ति लागिपरेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् । ‘गाउँ–गाउँमा सिंहदरबार आएको कतिपयलाई मन परेको छैन । यो व्यवस्था उल्ट्याउन केही शक्ति लागिपरेका छन् । उनीहरुलाई असफल पार्नुपर्छ,’ उनले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।