काठमाडौं – सत्ता समीकरण फेरबदलको अभ्यास भइरहेको लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा मिलेर मुख्यमन्त्री शंकर पोखरेलको कुर्सी ढाल्ने अन्तिम तयारी भइरहेको छ ।
प्रदेश सभामा रहेका चारै दल मिलेमा बहुमत पुग्ने भएकाले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ ।
प्रदेश सभामा समीकरण मिलाएर मुख्यमन्त्री रहिरहने आकलन गरिएका मुख्यमन्त्री पोखरेल अन्ततः संकटमा परेका छन् । पोखरेललाई हटाएर ४ दलले बहुमत पुर्याएलगत्तै माओवादी केन्द्रका नेता तथा आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी ‘सोनाम’लाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्रका ६० जना प्रदेशसभा सदस्यको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेकोमा यतिबेला माओवादीले साथ छाडिसकेको छ । नेकपा एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै दल भएपछि पोखरेललाई मुख्यमन्त्रीको पद जोगाउन मुस्किल परेको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गराउन कांग्रेस, माओवादी, जसपा र जनमोर्चा सहमत भइसकेका छन् ।
कूल ८५ प्रदेश सभा सदस्यमध्ये कांग्रेसका १९ जना रहेका छन् । एमालेका ४१ जनामध्ये २ जना माधवकुमार नेपाल पक्षमा रहेका छन् । माओवादीका २० प्रदेशसभा सदस्यमध्ये पूर्णबहादुर घर्ती सभामुख रहेका छन् । दिनेश पन्थी र माधव शर्मा एमालेमा गएकाले कारबाहीमा परेका छन् । यतिबेला माओवादीसँग १७ जना प्रदेशसभा सदस्य मात्रै बाँकी रहेका छन् । जसपासँग रहेका कूल ६ जना प्रदेशसभा सदस्यमध्ये ५ जना तत्कालीन समाजवादी र १ जना तत्कालीन राजपा पक्षबाट सांसद भएका हुन् ।
राजपाबाट प्रदेशसभा सदस्य भएकी कल्पना पाण्डेलाई आफ्नो पक्षमा पार्न नेताहरुले निकै मेहनत गरिरहेका छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने भनेर ३ दिनदेखि कुरिरहेका दलहरू जसपाकी १ सांसदको साथ नपाउँदा अगाडि बढ्न सकेका छैनन् ।
लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउन ४३ जना प्रदेश सभाको समर्थन भए पुग्छ । जसपाले साथ दिनेबित्तिकै मुख्यमन्त्रीका रुपमा केसीलाई अघि बढाउने चारै दलको सहमति भइसकेको स्रोतले जनाएको छ । ४ दलबीच भएको सहमतिमा माओवादीबाट मुख्यमन्त्रीसहित २ मन्त्री, कांग्रेसबाट ३ मन्त्री र जसपाबाट ३ मन्त्री बनाउने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।