काठमाडौं – नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच सैद्धान्तिक सहमति जुटेपछि गण्डकी प्रदेशमा कांग्रेसको दौडधुप तीब्र भएको छ ।
गण्डकीमा नयाँ सरकारको गठजोड तीब्र भइरहँदा ३ दल कांग्रेस, माओवादी र जसपाको बैठक बस्दैछ ।
सांसद विन्दुकुमार थापाको घरमा कांग्रेसले माओवादी संसदीय दलसँग बैठक बस्ने तयारी भइरहेको छ । माओवादी पछि कांग्रेसले जसपाका सांसदसँग भेट्ने भएको छ ।
सरकारमा सहभागी हुने दुबै दलसँगको भेटघाटबाट मन्त्रालय र अन्य राजनीतिक नियुक्तिको भागबण्डाका विषयमा सहमति जुट्ने स्रोतले जनाएको छ ।
मुख्यमन्त्रीबाहेक प्रदेश सरकारमा ६ वटा मन्त्रालय रहेका छन् । यीमध्ये भौतिक पूर्वाधार विकास र आर्थिक मामिला मन्त्रालयलाई आकर्षक मानिन्छ ।
विगतमा सत्ता साझेदार दल माओवादी केन्द्र भए पनि दुबै मन्त्रालय एमालेले राखेको थियो । माओवादीको भागमा भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानून मन्त्रालय रहेका थिए तर चैत २५ गते माओवादीले मन्त्रीलाई फिर्ता बोलाएपछि नयाँ सरकार गठनको सम्भावना खोजिएको हो ।
गण्डकीमा निर्णायक मानिएको ३ सिटे भएको जनमोर्चाले नयाँ सरकारलाई सघाउने संकेत गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।
गण्डकीमा कांग्रेस, माओवादी र जसपाको त्रिशंकु सरकार बन्ने भएको छ । नयाँ बन्ने सरकारमा कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने निश्चित भइसकेको स्रोतले जनाएको छ ।
सरकारमा मन्त्रालय र मन्त्रीको भागबण्डा मिलेको हकमा बिहीवार नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव एमाले बाहेकका अन्य दलले प्रदेशसभा सचिवालयमा दर्ता गराउने तयारी गरेका छन् ।
नयाँ सरकार बनाउन सत्ता समीकरणको अगुवाइ गर्दै कांग्रेसले बैठक बोलाएको छ । दुवै दलसँगको बैठकपछि आज बिहीबार बिहान ११ बजे कांग्रेसको संसदीय दलको बैठक बस्ने संसदीय दलका सचिव ललितकला गुरुङले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।