काठमाडौं – सत्ता समीकरण फेरबदलको लामो रस्साकस्सीबीच राष्ट्रिय जनमोर्चा (राजमो) ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार बनाउन ३ दलबीच सहमति जुटेको छ ।
नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले भोलि बिहीवार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गराउने भएका छन् ।
राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले बुधवार प्रेस वक्तव्य जारी गर्दै गण्डकी प्रदेश सरकारविरुद्ध ल्याउने अविश्वास प्रस्तावलाई समर्थन गर्ने जनाएका छन् । अविश्वास प्रस्तावको तयारीसँगै नयाँ सरकार बनाउन विपक्षी ३ पार्टीले आफ्ना सांसदलाई पोखरा बोलाएका छन् ।
प्रदेशसभाका कूल सांसदमध्ये १ चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरेपनि अविश्वास प्रस्ताव दर्ता हुनसक्छ । तर सकभर सबै जनाको हस्ताक्षर भएमा राम्रो हुने भन्दै सांसदहरूलाई बोलाइएको छ ।
भोलि बिहीवार अविश्वासको प्रस्ताव दर्ता हुने नेपाली कांग्रेसको वार्ता टोलीका संयोजक सांसद कुमार खड्काले बताए । राजमो अध्यक्ष केसीले मुख्यमन्त्री गुरुङले प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्री केपी ओलीको साथ दिएकाले उनीविरुद्ध आउने अविश्वास प्रस्तावको समर्थन गर्ने निर्णय गरेका छन् ।
गण्डकीमा मुख्यमन्त्री नेपाली कांग्रेसले पाउने पक्का भएको छ । केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएर मुख्यमन्त्री कांग्रेसको हुने सहमति जुटेको छ ।
‘गण्डकीमा मुख्यमन्त्रीमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय भएको छ,’ नेकपा माओवादी केन्द्र संसदीय दल नेता हरिबहादुर चुमानले भने, ‘कांग्रेस संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै बिहीवारै सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता तयारी हुँदैछ ।’ नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली रहेका छन् ।
गण्डकी प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद रहेका छन् । सरकार सञ्चालनका लागि ३१ सांसद आवश्यक पर्छन् । स्वतन्त्रबाट जितेर नेकपा प्रवेश गरेका राजीव गुरुङ ‘दीपक मनाङे’ले एमालेकै सरकारलाई समर्थन गरिरहेको भए पनि विपक्षी गठबन्धनले आफ्नो पक्षमा आउने दाबी गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।