काठमाडौं - यतिबेला नेपालमा दुई कम्युनिस्ट नेताले राजनीतिको नाममा तमासा देखाइरहेका छन् । तीन वर्षअघि निर्वाचनमा एक भएर हिँडेका केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड अहिले दुई किनारमा उभिएका छन् । यो तीन वर्षमा दुवैले आफ्नो राजनीतिक हैसियत देखाइसकेका छन् ।
प्रधानमन्त्री बन्ने बेला ओलीलाई प्रतिनिधिसभाको ६४ प्रतिशत समर्थन थियो । कांग्रेसबाहेक सबैले समर्थन गरेका थिए । तर, पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै ओलीले त्यो समर्थन गुमाए ।
आफ्नै पार्टी दुई चिरा भयो । हिजो एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा एकता अदालतले नै खारेज गरिदियो । ओलीको संसद् विघटनको निर्णय अदालतले बदर गरिदियो ।
सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेसँगै नैतिकताका आधारमा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने हो । तर, ओलीमा पहिलेकै जस्तो घमण्ड देखियो ।
आफू नभए नेपाल अघि बढ्न नसक्ने मात्र होइन, नेपाली जनताले साससमेत फेर्न बिर्सने भ्रम ओलीमा देखियो । त्यही भएर अहिले पनि उनी कुर्सीमै छन् । राजनीतिमा नैतिकता धेरै ठूलो हतियार हो ।
तर, त्यो नैतिकतालाई ओलीले तिलाञ्जली दिएका छन् । बहुमत प्राप्त प्रधानमन्त्री भए पनि नैतिकता नरहेपछि एक मिनेट पनि कुर्सीमा बस्न मिल्दैन । तर, ओली अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धम्क्याइरहेका छन् ।
‘तिमीहरूको समर्थन मलाई चाहिन्न, फिर्ता लैजाऊ’ भनेर । ओलीले यतिसम्म भन्दा पनि प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेका छैनन् । जबकि उनी अहिले ओलीविरुद्ध मोर्चाबन्दीमा जुटेका छन् ।
आफू चाहिँ ओलीलाई दिएको समर्थन फिर्ता लिन नसक्ने अनि कांग्रेस र जसपालाई ओली टिकाइरहने भन्दै प्रचण्डले अर्को तमासा देखाएका छन् ।
जबसम्म प्रचण्डले ओलीलाई दिएको समर्थन फिर्ता लिँदैनन्, तबसम्म नयाँ राजनीतिक कोर्ष अघि बढ्न नसक्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताउँदै आएका छन् ।
तर, पनि प्रचण्डमा ओलीप्रतिको मोह अझै टुटेको छैन । आफ्ना १६ सांसद ओलीले लैजाँदा पनि प्रचण्डले उनलाई समर्थन गरिरहनुको भित्री रहस्य के हो ? नेपालको राजनीतिमा चर्चा हुन थालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।