काठमाडौं – नेपाली कांग्रेस सिन्धुलीका जिल्ला सभापति उज्ज्वल बरालले प्रधानमन्त्री केपी शर्मा ओली अनुशासनहीन भएर अनुशासनको पाठ पठाउँदै हिँडेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस दुधौलीले ५ नम्बर वडा कार्यसमितिले वडा सभापति मदन काफ्लेको सभापतित्वमा आयोजना गरेको नव वर्ष २०७८ सालको शुभकामना आदानप्रदान तथा वडा तरुण दल गठन कार्यक्रममा जिल्ला सभापति उज्ज्वल बरालले प्रधानमन्त्री ओली आफू घोडेजात्रा लगायत सार्वजनिक सभा गर्दै हिँडेको र अरुलाई कोरोनाको मापदण्डको पालना गर्न फर्मान जारी गरेर स्वंय अनुशासनहीन भएको तथ्य पेश गरे ।
निर्वाचित तरुण दलका कार्यकर्तालाई हौसला दिँदै सभापति बरालले युवालाई परिवर्तनको बाहक रहेको बताए । बीपीलाई सम्झिँदै बरालले भने, ‘बीपीले युवालाई विचार भरिएका आगोका ज्वाला हुन् भन्नुभएका थियो, त्यसैले सामाजिक परिवर्तन र रूपान्तरणको लागि युवाहरूले उत्पीडितको आवाजलाई हावाको गतिमा न्यायको पक्षमा अगाडि ल्याउन सक्नुपर्छ ।’
कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्व जिल्ला सभापति मोहन बरालले भने, ‘गणेशमान सिंहले भनेको जस्तो युवाहरू अर्को चुनावको लागि होइन, अर्को पुस्ताको भविष्य सुरक्षित बनाउन लड्नुपर्ने आजको आवश्यकता हो ।’
तरुण दलका क्षेत्रीय सभापति सुजन थापा मगर र नगर सभापति विश्वास शाही ठकुरीको उपस्थितिमा विष्णुबहादुर बुढाथोकीको सभापतित्वमा दुधौली नगरपालिका–५ तरुण दलको १३ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको थियो ।
तरुण दलका नगर सचिव सुरेश बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा अतिथिहरू प्रेमचन्द्र दाहाल, विनोद गुरुङ, गंगा दाहाल र कर्ण थापाले नयाँ वर्षले पार्टीको आन्तरिक जीवनमा गतिशीलता, भातृत्व, एकता र सहकार्यताको भावना विकास गराउने अपेक्षासहित शुभकामना व्यक्त गरेका थिए ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।