काठमाडौं - नेपाली कांग्रेसमाथि ओली सरकारको विकल्प दिन निकै ठूलो दबाब परिरहेको छ । कांग्रेसले आफ्नो सम्पूर्ण ध्यान निर्वाचनतर्फ केन्द्रित गरे पनि पार्टीमै संस्थापनइतर र माओवादी केन्द्र तथा जसपाको एउटा पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब बढाउँदै गएका छन् ।
सोही कारण कांग्रेसले अस्ति शुक्रवारको केन्द्रीय समिति रोकेर तीन दलको बैठक राखेको थियो। देउवा निवास बुढानिलकण्ठमा बसेको तीन दलको बैठकमा जनता समाजवादी पार्टी नयाँ सरकार गठनमा सकारात्मक देखिएको थियो।
यद्यपि यसबारे जसपाले कुनै निर्णय भने गरिसकेको छैन। माओवादी केन्द्र र जसपाको एक पक्षले नयाँ सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने प्रस्ताव गर्दै आएको छ ।
तर, झन्डै दुई तिहाइको बहुमत सरकार एकैचोटि अल्पमतमा परेकाले अब बन्ने सरकार पनि अस्थिर हुन सक्ने भन्दै कांग्रेस सभापति देउवाले निर्वाचनमा जानुपर्ने मत राख्दै आएका छन् ।
तर, पार्टी र विपक्षी दलको दबाब खेप्न नसकेपछि त्यसबारे निर्णय लिन कांग्रेस सभापति देउवाले आइतबार दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् ।
बैठक पार्टी कार्यालय सानेपामा बस्ने छ । बैठकमा नयाँ सरकार गठनका लागि काँग्रेसको अग्रसरताको विषयमा पनि छलफल हुने बताइएको छ। बैठकमा सोमवार बस्ने केन्द्रीय समितिको एजेन्डा तय गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
‘पदाधिकारी बैठक १४ औं महाधिवेशनबारे केन्द्रित हुनेछ,’ मुख्यसचिव पौडेलले भने। महाधिवेशनबारे निर्णय लिन भनिए पनि नयाँ सरकारबारे नै बोल्ड निर्णय आउन सक्ने स्रोतको भनाइ छ । कांग्रेसले अग्रसरता लिएमा ओलीको पद धरापमा पर्ने निश्चित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।