काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा नेपाली कांग्रेस सहितका सबै दलहरू र एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षसँग चुनावी गठबन्धन बनाएर केपी शर्मा ओलीलाई चौथो शक्तिमा झार्ने दाबी गरेका छन् ।
अध्यक्ष ओली नेतृत्वको नेकपा एमाले हाल पहिलो शक्तिसहित सरकारको नेतृत्व गरिरहेको छ । माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिवार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रचण्डले आगामी चुनावमा मोर्चा बनाएर एमालेलाई चौथो पार्टी बनाउने बताएका छन् ।
नेपाल पत्रकार महासंघको चुनावमा माओवादीकै पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको र ओली पक्षका पत्रकारलाई चौथो नम्बरमा पुर्याउन सफल भएको प्रचण्डले दाबी गरे ।
जसपाका नेतासँग पनि माओवादी केन्द्रको वेभ–लेन्थ पहिलेदेखि नै मिल्दै आएकाले मोर्चा बन्न सक्ने प्रचण्डले बताएका छन् । प्रचण्डले कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र ओलीको विघटनको यात्रा सुरु हुने दाबी गरेका छन् ।
‘मोर्चा त बन्छ बन्छ र बनाउनैपर्छ भन्ने लागेको छ । मोर्चा बनाउनेमा चाहिँ हामीहरू र नेकपा एमाले भित्रको एउटा पक्षसँग मोर्चा त बनिराखेकै छ,’ उनले भने, ‘जसपासँग मोर्चा अर्को पक्षसँग मोर्चा र नेपाली कांग्रेससँग कम्तिमा सरकारमा सँगै र चुनावी तालमेल भयो भने त्यो पनि ठूलो कुरा हुन्छ । अब अहिले मोहन विक्रमहरूसँग, वैद्यजीहरूसँग पनि एकताको सपना देख्नु त एउटा कुरा हो तर अहिले भइहाल्छ भनेर धेरै लोभ गर्ने र धेरै आश गर्न नि हुँदैन । तर मोर्चा चाहिँ बन्छ ।’
उनले देशीविदेशी प्रतिक्रियावादी मिलेर अप्राकृतिक र अनैतिक ढंगले नेकपालाई विभाजित गरिदिएको आरोप लगाएका छन् । उनले आफूहरूले पार्टी सदस्यबाटै हटाइसकेका ओलीलाई सर्वोच्च अदालतले सेटिङबाट प्रधानमन्त्री नै कायम गरिदिएको र पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।
‘समाजवाद निर्माण गर्नका निम्ति विशाल कम्युनिस्ट समर्थक जनतालाई एकतावद्ध गर्न आवश्यक छ । अप्राकृतिक ढंगले विभाजित गरिएको पार्टी पुनर्मिलन गराउनु जरुरी छ,’ उनले भने ।
उनले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्चले विचित्रको फैसला गरी प्रधानमन्त्रीमै राखिदिएको बताएका छन् । प्रचण्डले तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट हटाउने बित्तिकै छलछाम गर्दै सेटिङका आधारमा प्रधानमन्त्रीमै कायम रहने अवस्था सिर्जना गरिएको बताएका छन् ।
‘हाम्रो त लभ परिराख्या थियो । २ वटा पार्टीको त लभ परेर तपाईंहरूले देख्नुभयो नि । २८ गतेको आमसभामा म कसरी बोलेको थिएँ, माधवजी कसरी बोल्नुभयो, झलनाथजी कसरी बोल्नुभयो । लभ नपरेको भए त्यसरी बोलिन्थेन नि त ! लभ परेको श्रीमानश्रीमतीलाई त अदालतले जबरजस्ती डिभोर्स गरिदिन पाइन्छ ? लभ परिराखेकालाई डिभोर्स गर्ने यो त प्राकृतिक रूपले पनि अन्याय भयो,’ प्रचण्डले भने, ‘कतैबाट पनि मिल्ने कुरा हो त ? अब अहिले दुलहादुलही रुँदैरुँदै आफ्नो–आफ्नो घरमा । त्यसो भएर मैले यसलाई अप्राकृतिक, अस्वाभाविक, अनैतिक, गलत र सेटिङमा भयो भनेको छु । लभ गर्नु गल्ती भएको हो त ? हामीले लभ गरेर ठीकै गरेका थियौं, मिलाएरै लगेका थियौं । शक्तिलाई कमजोर हुन दिएका त थिएनौं । यसरी बुझ्न पर्यो र फेरि पनि कम्युनिस्ट आन्दोलनको एकता आवश्यक रहेको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।