काठमाडौं – नयाँ सत्ता समीकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) लाई फकाउने कसरत जारी राखेको छ ।
तर जसपा भने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई तत्काल विस्थापित गर्ने पक्षमा देखिएको छैन ।
जसपा अनिर्णित हँुदा नयाँ सरकार बनाउने कांग्रेसको योजना तत्काल पूरा हुन कठिन भएको छ ।
शुक्रवार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपा सहितको संयुक्त बैठकमार्फत् कांग्रेसले जसपालाई सत्ता सहकार्यको औपचारिक प्रस्ताव गरे पनि जसपाले कुनै निर्णय दिन सकेन । जसपाले निर्णय नदिँदा कांग्रेसको तत्काल नयाँ सरकार बनाउने योजना पर सरेको छ ।
नयाँ सरकार गठनका विषयमा माओवादी केन्द्रले भने कांग्रेसलाई सहमति दिँदै आएको छ । शुक्रवारको बैठकमा कांग्रेस सभापति देउवाले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पार्टीले निर्णय गरिसकेको भन्दै माओवादी र जसपालाई समेत निर्णयबारे जानकारी गराए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपालाई विधिवत रुपमा नयाँ सरकार गठनका लागि सहकार्य प्रस्ताव गरिएको बताए । पौडेलले आफ्नो दलको प्रस्तावमा जसपा सकरात्मक रहेको तर आन्तरिक छलफलपछि टुंगोमा पुग्ने जसपाको जवाफ रहेको बताएका छन् ।
‘हामीले विधिवत रुपमा जसपालाई सरकार गठनका लागि प्रस्ताव गर्यौं, उहाँहरु नकारात्मक हुनुहुन्न, दलभित्र आन्तरिक छलफल गरेर निर्णय दिन्छौं भन्नेछ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जसपा नेता महन्थ ठाकुरले जसपालाई पहिलोपटक नयाँ सरकारका लागि सहकार्यको प्रस्ताव आएको र आन्तरिक छलफलपछि निर्णय दिने जानकारी गराएको बताएका छन् ।
‘पहिलोपटक नयाँ सरकार गठनका लागि प्रस्ताव आएको छ, अब हामी आन्तरिक छलफल गरेर थप निर्णय गर्छौं,’ उनले भने । ३ दलीय बैठकमा जसपाले कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग संविधान संशोधन, जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ, आफ्ना नेता कार्यकर्तामाथि लगाइँदै आइरहेको झूटा मुद्दा खारेजी, नागरिकता समस्याको समाधान लगायतका मागबारे जानकारी गराएका छन् ।
सो प्रस्तावमा कांग्रेसले भने प्रधानमन्त्री ओलीले जसपाका मागमा गर्न सक्ने सम्बोधन कांग्रेसले पनि गर्न सक्ने भन्दै धेरै चिन्ता नलिन जवाफ दिए । सभापति देउवाले संविधान संशोधनका विषयमा प्रधानमन्त्री ओलीको दल एमालेभन्दा पहिलेबाट नै कांग्रेस बढी लचक रहँदै आएको समेत जसपालाई जवाफ दिएका थिए ।
बैठकमा कांग्रेसबाट सभापति देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, विजयकुमार गच्छेदार, विमलेन्द्र निधि, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जसपाबाट महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका नेता सहभागी रहेका थिए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।