काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक पहल थालेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभापति देउवालाई नयाँ सरकार गठनको नेतृत्व गर्न आग्रह गर्दै आएका छन् ।
देउवाले भने नयाँ सरकार गठनका लागि आवश्यक पर्ने संख्या नपुग्ने भन्दै खासै पहल थालेका थिएनन् । तर देउवाले बिहीवारदेखि नयाँ सरकार गठनको कसरत थालेका हुन् । सोही कसरत स्वरुप देउवाले आज शुक्रवार ३ दलको बैठक बोलाएका छन् ।
कांग्रेसले यसअघि नै आवश्यक परे नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । कांग्रेस सभापति देउवाले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेताहरुलाई बैठकका लागि बोलाएका छन् । माओवादी अध्यक्ष प्रचण्ड देउवासँग छलफलकै लागि बिहीबारै सुर्खेतबाट हतारहतार काठमाडौं आएका थिए ।
माओवादीले ओलीलाई हटाउने वा नहटाउनेबारे प्रष्ट निर्णय दिन देउवा र महन्थ ठाकुरलाई आग्रह गरेको छ । ओलीको विपक्षमा संसदमा बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म देउवा अघि बढ्न चाहेका छैनन् । वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा जसपाभित्र स्पष्ट रुपमा २ धार देखिएका छन् ।
केन्द्रीय समितिको शुक्रवार बस्ने बैठक स्थगित गरेका कांग्रेस सभापति देउवाले सरकार गठनका विकल्पबारे छलफल गर्ने उनी निकट स्रोतले जनाएको छ । यस विषयमा आवश्यक रणनीति बनाउन देउवाले बिहीवार साँझ आफ्नै निवास बूढानीलकण्ठमा निकटस्थ नेतासँग परामर्श समेत गरेका छन् ।
परामर्शक्रममा निकटस्थले केन्द्रीय कार्यसमिति बैठकबाट सरकारको नेतृत्व गर्ने निर्णय लिएको १ हप्ता बितिसकेकाले अन्तरपार्टी छलफल गर्न देउवालाई सुझाव दिएका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अनुसार शुक्रवार बस्ने ३ दलको बैठकमा वर्तमान सरकारको विकल्प खोज्ने, अविश्वास प्रस्ताव, नयाँ सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बताए ।
माओवादी केन्द्र सरकार परिवर्तन गर्न व्यापक दौडधुपमा लागे पनि जसपाले खासै रुचि देखाएको छैन । जसपाले रुचि नदेखाएपछि कांग्रेसलाई सरकार परिवर्तनका लागि अग्रसरता लिन समेत समस्या परेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।