काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीवार वीर गणेशमान सिंह स्मृति चौथो खुला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उद्घाटन गरेका छन् ।
सभापति देउवाले बिहीवार ललितपुर जिल्लाको गोदावरी नगरपालिका–११ प्याङ्गाउँचौर चापागाउँमा प्रतियोगिताको उद्घाटन गरेका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै सभापति देउवाले खेलको विकासका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने आश्वासन दिएका छन् । चापागाउँमा खेलकुद विभागले ठूलो राशीका प्रतियोगिताको आयोजना गरेको भन्दै धन्यवाद समेत दिए ।
कार्यक्रममा सहभागी हुने क्रममा देउवालाई खेलाडी र स्थानीय सांकृतिक टोलीहरु झाँकीसहित भव्य रूपमा स्वागत गरेका थिए ।
नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभाग तथा ललितपुर किक बक्सिङ संघले चैत २६, २७ र २८ गते ३ दिन प्रतियोगिता गर्नेछ । समापनको दिन कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले विजेता टीम र खेलाडीलाई पुरस्कार वितरण गर्ने तयारी छ ।
खेलकुद विभागका सचिव तथा नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले सभापति देउवाले उद्घाटन गरेसँगै किक बक्सिङ प्रतियोगिता सुरू भएको बताएका छन् । बिहीवार पनि विभिन्न तौल समूहमा प्रतिस्पर्धा भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत रहेका महर्जन प्रतियोगिताका संयोजक समेत हुन् । उद्घाटन कार्यक्रममा सभापति देउवाका साथै केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, एनपी साउँद, पूर्व राज्यमन्त्री उदयशमशेर राणा, ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्य, पूर्व सांसद रामहरि खतिवडा, प्रतिनिधि सभाकी सांसद महेन्द्रा लिम्बु, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन, उपाध्यक्ष रञ्जना तिमिल्सिना घिमिरे लगायतको उपस्थिति थियो ।
ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जनको सभापतित्वमा भएको कार्यक्रममा विभागका सचिव तथा प्रतियोगिताका संयोजक महर्जनले स्वागत गरेका थिए ।
स्वागतका क्रममा सचिव महर्जनले कांग्रेसको प्राथमिकतामा खेलकुद पर्न नसकेको भन्दै गुनासो गरेका छन् । सभापति देउवातर्फ संकेत गर्दै उनले अबका दिनमा कांग्रेसले खेलकुद मन्त्रालयलाई आफैंसँग राखेर खेलाडी, खेल क्षेत्रको विकासको नेतृत्व लिन अनुरोध गरेका थिए । सचिव महर्जनले खेलकुद क्षेत्रलाई कांग्रेसले आफ्नो मेरुदण्ड मान्नुपर्ने बताएका छन् ।
प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, कराँते, तेक्वान्दो, उसु, बक्सिङ, म्वाइथाइ, फुल कन्ट्याक कराते, आईटीएफ, के वान, रेवान लगायतका टीम सहभागी हुने विभागका सचिव महर्जनले बताए ।
पुरुषतर्फ ५०, ५५, ६०, ६५, ७०, ७५ किलो र खुला तौलतर्फको समूहबीच खुला प्रतिस्पर्धा हुने पूर्व राष्ट्रिय खेलाडी तथा ललितपुर किक बक्सिङ संघका अध्यक्ष महर्जनले बताए ।
महिलातर्फ ५५, ६०, ६५ र खुला तौल समूहबीच प्रतिस्पर्धा गराइने संघका अध्यक्ष महर्जनले बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत रहेका महर्जनले प्रत्येक समूहमा प्रथम हुने खेलाडीलाई ३० हजार, दोस्रो हुनेलाई १५ हजार, तृतीय हुने २–२ जना खेलाडीलाई ८–८ हजार नगद पुरस्कार प्रदान गरिने बताएका छन् ।
सबैभन्दा धेरै स्वर्ण पदक हासिल गर्ने टीमलाई नगद १ लाख, दोस्रो टीमलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार नगद प्रदान गरिने छ । उत्कृष्ट खेलाडी महिला र पुरुषलाई २५–२५ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।
खेलाडीलाई खान, बस्न लगायतको सुविधा पनि रहेको छ । कार्यक्रमको उद्घाटनका बेला विभिन्न झाँकीहरु पनि प्रस्तुत गरिएका थिए ।
उद्घाटन कार्यक्रममा सभापति देउवाले खेलाडीका साथै प्रतियोगितालाई आर्थिक र भौतिक सहयोग गर्नेहरुलाई सम्मान समेत गरेका थिए । देउवाले विश्व आचार्य, राजु बस्नेत सहितका पत्रकारलाई समेत सम्मान गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।