काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन अंकगणितको जोडघटाउमा लागेको छ ।
कांग्रेसले सरकार गठनका लागि आवश्यक पर्ने अंकगणितको जोडघटाउमा आफूलाई कसरी बलियो बनाउने भन्नेतर्फ छलफललाई अनौपचारिक रुपमा अघि बढाएको छ ।
कांग्रेसको चैत २० गते बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको हो ।
नयाँ सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्याका विषयमा सुनिश्चतता नहुँदा नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्नेमा कांग्रेस अलमलमा रहेको छ । यसैकारण सभापति शेरबहादुर देउवाले अझै प्रष्ट रुपमा मुख खोलिसकेका छैनन् तर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिवार सरकार गठनका विषयमा अनौपचारिक संवाद भने भएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समेत सरकार गठनका लागि संसदमा रहेका दलहरुसँगको छलफलमा सक्रियताका साथ जुटिरहेका छन् । पौडेलले आईतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनकै निवास भैंसेपाटी पुगेर भेटेका छन् । भेटमा पौडेलले नयाँ सरकारका लागि कांग्रेसलाई सहयोग गर्न नेता ठाकुरसँग आग्रह गरेका छन् ।
‘अलोकतान्त्रिक कदम चाल्ने नेतृत्वलाई साथ दिने कि विकल्प खोज्ने भन्ने नेता पौडेलको प्रश्न थियो, उहाँले लोकतन्त्रको रक्षाका लागि पनि एक हुनुपर्नेमा ठाकुरसँग आग्रह गर्नुभयो,’ पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने ।
पौडेलले जसपाका मागबारे सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग संवाद गरेर संयुक्त रुपमा समाधान खोज्दै अघि बढ्न समेत नेता ठाकुरलाई प्रस्ताव गरे । पौडेलको प्रस्तावपछि जवाफमा ठाकुरले आफ्नो दलले राखेका माग सम्बोधन गर्ने पक्षलाई नै साथ दिने जवाफ दिएका छन् ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा सरकार गठन गर्न कांग्रेसलाई अंकगणितमा जसपाको साथ आवश्यक हुनेछ । त्यसका लागि पहिले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको प्रक्रियामा अघि बढ्नुपर्ने र त्यसपछि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने वातावरण बन्नुपर्ने उनले बताए ।
नेपाली कांग्रेस सहमहामन्त्री डा. प्रकाशरण महतले नयाँ सरकार गठनका लागि संसदमा संख्या सुनिश्चितता गर्नु कांग्रेसका लागि पहिलो आवश्यकता रहेको बताए । ‘नयाँ सरकार गठनका लागि संसदमा संख्या सुनिश्चितता गर्नुपर्छ, संख्या सुनिश्चित भएपछि सरकार गठन गर्न सकिन्छ,’ कांग्रेस सहमहामन्त्री महतले भने ।
प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद रहेकामा २ जना निलम्बनमा छन । संसदमा माओवादी केन्द्रका ५३ र जसपाका ३३ सांसद रहेका छन् । माओवादीको तर्फका केही सांसद सरकारमा मन्त्री रहेका छन् । नेकपा एमालेका मात्रै संसदमा १२१ सांसद छन् । राप्रपा, जनमोर्चा र नेमकिपाका १–१ जना सांसद रहेका छन् ।
जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने नयाँ सरकार बनाउन अग्रसरता लिने निर्णय गरेकोमा कांग्रेसलाई धन्यवाद दिएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।