काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पछिल्लो विकसित राजनीतिक घटनाक्रम नियाल्ने तर तत्काल केही नबोल्ने र नखुल्ने रणनीति लिएको छ ।
नयाँ सरकार गठन सम्बन्धमा कांगे्रसले कुनै रुचि नलिएपछि त्यो सम्भावना करीब अन्त्यजस्तै भएको छ । हाल कम्युनिस्ट शक्तिबीच आन्तरिक कलह मात्रै भएको र सत्ताका लागि उनीहरु विभाजित मनस्थितिमा नपुगिसकेको भन्दै कांग्रेसले तत्काल केही नबोल्ने र कुनै पनि पक्षतर्फ नखुल्ने रणनीति लिएको छ ।
मंगलवार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसको ‘रणनीति’ बुझ्न सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । त्यसक्रममा देउवाले कांग्रेस ‘पर्ख र हेरकै अवस्थामा रहेको र सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन पनि निरन्तर रहेको’ भन्दै कांग्रेसले थप कुनै निर्णय तत्कालै नलिने सन्देश दिएका छन् ।
‘प्रचण्डले प्रतिगमन विरोधी पक्षसँगै मिलेर जाऔं भन्ने प्रस्ताव गर्नुभयो । तर देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नभएकाले केही गर्ने अवस्था नरहेको जवाफ दिनुभयो,’ माओवादी अध्यक्ष प्रचण्डले राखेको धारणाबारे बताउँदै देउवानिकट एक नेताले भने, ‘यसले कांग्रेस पहिले जुन रणनीतिमा थियो, त्यहीँ छ भन्ने प्रष्ट हुन्छ ।’
कांग्रेस उपसभापति विमलेन्द्र निधिले माओवादी केन्द्र र जसपा आफैं सत्ता समीकरणका लागि प्रष्ट नभइसकेका कारण तत्काल कुनै निर्णयमा पुगिहाल्ने अवस्था नरहेको प्रष्ट पारेका छन् ।
‘माओवादी केन्द्रको सरकारलाई समर्थन कायम छ । जसपा पनि अलमलमा नै छ, सत्ता समीकरणका लागि जे हुनुपर्ने हो त्यो भइसकेको छैन, कांग्रेस अहिले नै नयाँ निर्णयमा पुगिहाल्ने अवस्थामा छैन,’ कांग्रेस उपसभापति निधिले भनेका छन् ।
पछिल्लो समय सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने निर्णय गरेपछि सरकारको विकल्पबारे चर्चा हुँदै आए पनि अवस्था परिपक्व नभएको जवाफ कांग्रेसले दिँदै आइरहेको थियो ।
पछिल्लोपटक नेकपा विवादबारे सर्वोच्चले फैसला गरेर नेकपालाई साविककै अवस्थामा पुर्याइदिएपछि कांग्रेस पर्ख र हेरकै अवस्थाबाट अघि बढ्दै आएको छ । यसबीच कांग्रेसले माओवादी केन्द्रसहित जसपासँग धारणा भने बुझ्दै आएको छ ।
संसद विघटन समय सरकारको विरोध र पुनःस्थापनाका पक्षमा खुलेर लागेका नेता समेत कांग्रेसको आगामी रणनीतिबारे पछिल्लो समय मौन रहेका छन् । कांग्रेसको मौनतालाई सत्ता र बाहिर रहेका दलले समेत चासोका साथ हेरिरहेका छन् ।
कांग्रेसले पछिल्लो राजनीतिक अवस्थासहित १४ औं महाधिवेशनबारे छलफल गर्न २० चैतका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठकमार्फत थप रणनीति अघि सार्ने अपेक्षा गरिएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।