काठमाडौं - प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली अहिले आफूलाई निकै राष्ट्रवादी नेता भएको देखाउन लालयित छन् । जब तीन वर्षअघि निर्वाचन जितेर प्रधानमन्त्री बने त्यसपछि ओलीमा निकै परिवर्तन आएको उनी निकट नेताहरू बताउँछन् ।
कतिसम्म भने एमाले र माओवादी केन्द्र एकता भएर नेकपा गठन भएपछि ओलीले पार्टीको नाम बदल्न तीव्र प्रयास गरेका थिए । उनले पार्टीका शीर्षदेखि दोस्रो तहका नेताहरूलाई पार्टीको नामबाट ‘कम्युनिस्ट’ भन्ने हटाउन जोडबल गरेका थिए ।
ओलीको चाहना कम्युनिस्ट पार्टीको नाम बदलेर समाजवादी या जनता दल जस्ता नाम राख्ने रहेको उनी निकट एक नेता बताउँछन् । ‘उहाँलाई कम्युनिस्ट पार्टी भन्ने शब्दबाट एलर्जी भएको जस्तो देखिन्छ, त्यही भएर उहाँले नेकपाको नामबाट कम्युनिस्ट भन्ने हटाउन छलफल थाल्नु भएको थियो, तर सर्वोच्च अदालतको फैसलाले फेरि अलग अलग बनाइदिएको छ,’ माओवादी केन्द्रका एक नेताले भने ।
ओलीको प्रस्तावप्रति भने केही नेताले आपत्ति जनाएको बताइन्छ । उनीहरूको तर्क थियो– ‘कम्युनिस्ट पार्टीको नाममा भोट मागेर सरकार बनाइसकेपछि अहिले पार्टीको नाम बदल्नु हुन्न ।
जनताले यसलाई पचाउँदैनन् ।’ २०५१ सालमा नौ महिने एमालेको सरकारका पालामा पनि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पार्टीको झन्डाबाट हँसिया हथौडा हटाउन लबिङ गरेका थिए ।
त्यसबेला अमेरिकी राजदूत एमाले मुख्यालय बल्खुमा पुग्दा बैठक कोठाबाट माक्र्स, लेनिन, माओको तस्बिर हटाइएको थियो । तत्कालीन प्रधानमन्त्री अधिकारीले एमाले नाम मात्रको कम्युनिस्ट पार्टी भएको बताएका थिए ।
अहिले ओलीले अधिकारीकै नीतिलाई फलो गरेको बताइन्छ । पार्टीको नामबाट कम्युनिस्ट हटाउँदा सो नामबाट एलर्जी हुनेको सहानुभूति पाइन्छ भन्ने ओलीको मनसाय देखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।