काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष, कराँते पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा लगनखेल डोजो संरक्षक मीनकृष्ण महर्जनले गुटबन्दीले कराँते महासंघ पछिल्लो अवस्थामा अस्तव्यस्त पारिएको बताएका छन् ।
नेपाल कराँते महासंघ स्वयम्भू डोजोद्वारा दशरथ रंगशालाको कबर्ड हलमा आयोजित जुनियर राष्ट्रिय कराँते प्रतियोगितामा नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग सचिव तथा प्रभावशाली युवा नेता समेत रहेका महर्जनले महासंघका पदाधिकारी पैसा कुम्ल्याउनमै केन्द्रित रहेका बताए ।
‘महासंघका पदाधिकारीहरू गुटबन्दीमा मात्र सीमित रहेकाले खेलाडीको जीवनस्तरको निमित्त कुनै चासो देखाएका छैनन्, बेल्ट टेस्ट गर्ने पैसा कुम्याउनमा मात्र ध्यान केन्द्रित रहेको छ,’ उनले भने ।
महासंघमा ६ महिनामा चुनाव गराउने भनेर तत्कालीन खेलकुद मन्त्री जगत विश्वकर्माको रोहवरमा तत्कालीन कराँते महासंघ अध्यक्ष दावा गुरुङलाई हटाएर एमाले नेता भीम आचार्यका भाइ शम्भु आचार्यलाई अध्यक्ष, दावा गुरुङलाई सहअध्यक्ष, पुरेन्द्र लाँखेलाई उपाध्यक्ष र शरण केसीलाई महासचिव बनाएर ६ महिनाभित्र चुनाव गराउने खेलकुद मन्त्रालयमा लिखित सहमति भएको थियो,’ महर्जनले भने, ‘त्यसबेला खेलकुद मन्त्रालयमा म आफैं पनि छलफलमा साक्षीको रूपमा उपस्थित भएको थिए । तर २ वर्ष बितिसक्दा पनि चुनावको कुनै चासो नदेखाएका कारण महर्जनले खेलकुद परिषद्का सदस्य सचिव र कराँते महासंघका पदाधिकारीप्रति आक्रोश पोखे ।’
प्रतियोगितामा महर्जनले आक्रोश पोख्दा कराँते महासंघका पदाधिकारी नतमस्तक भएर सुनेर बसे । तर महर्जनको भनाईको कुनै प्रतिक्रिया दिन सकेनन् । आफू १२ वर्ष उमेरदेखि कराँते खेलमा लागेर राष्ट्रिय खेलाडी हुँदै अन्तर्राष्ट्रिय खेलाडी भएको र राष्ट्रिय रेफ्री हुँदै अन्तर्राष्ट्रिय रेफ्री भएको बताउँदै महर्जनले भने, ‘कांग्रेसको कोटाबाट राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्ष समेत रहिसकेका नाताले मेरो नशा–नशामा कराँतेको रगत रहेको छ, अब चुप लागेर बस्न सकिँदैन ।’
चुनावको निम्ति वातावरण बनाउन लागिपर्ने र कराँतेको नाममा असुली धन्दा गर्नेलाई जरैबाट उखालेर फाल्ने महर्जनले उद्घोष गरे । ‘कराँते महासंघका अध्यक्ष कुन दुलोमा लुकेर बसेका छन् ? अध्यक्षको अत्तोपत्तो छैन । यदि नैतिकता छ भने राजीनामा दिएर घरमा आराम गरेर बसे हुन्छ,’ महर्जनले भने, ‘नेपालको खेलकुदको प्रतिष्ठा भनेकै कराँते नै हो, विगतको इतिहास पल्टाउँदा प्रस्ट हुन्छ । त्यसैले यस्ता गैरजिम्मेवारी कराँतेका पदाधिकारीलाई बिदा गरेर भिजन र मिसन भएका, खेलाडीहरूको भविष्यबारे सोच्ने व्यक्तिको आवश्यकता छ ।’
महर्जनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई पटक–पटक भेटेर कराँते महासंघको चुनाव गराउन आग्रह गराउँदा समेत सदस्य सचिवले आश्वासन मात्र दिएको उनले जानकारी गराए । अब चुनावी संघर्ष समिति बनाएर चुनावको निमित्त दबाब सिर्जना गर्ने महर्जनले बताए ।
महर्जनले खेलकुद मन्त्री खेलकुदको कुनै ज्ञानै नभएकाले खेलाडीको भविष्य अन्धकारतिर धकेलिँदै गएकोमा चिन्ता व्यक्त गरे । अब चाँडै खेलकुद मन्त्रालय कांग्रेसको जिम्मेवारीमा आउने र खेलाडीको भविष्य उज्वल पार्ने, देशैभर खेलकुदमय बनाउने महर्जनले उद्घोष गरे ।
कराँतेको वरिष्ठ प्रशिक्षक, अन्तर्राष्ट्रिय रेफ्री, स्वयम्भू डोजोका प्रशिक्षक महेश रन्जितले विगत ५ वर्षदेखि अन्तर्राष्ट्रिय कराँते प्रतोयोगिता गर्दै आइरहेको थिए । तर कोरोना भाइरसको महामारीका कारण यस वर्ष नेपाली खेलाडीको मात्र प्रतिस्पर्धा गराएका थिए ।
विगत ४ वर्षदेखि प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेशले सहभागिता जनाउँदै आइरहेकोमा कोरोना जोखिमको कारण विदेशी खेलाडीले सहभागिता जनाउन नसकेको प्रतियोगिता संयोजक वरिष्ठ कराँते प्रशिक्षक अन्तर्राष्ट्रिय रेफ्री महेश रंजितले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।