शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

बहुमत पुर्‍याउन चाहिने १८ सांसदको पूर्ति यसरी गर्दैछन् केपी ओली

बहुमत पुर्‍याउन चाहिने १८ सांसदको पूर्ति यसरी गर्दैछन् केपी ओली

  • मिडिया डबली
  • शनिवार, चैत्र १४ २०७७

  • 17.8K
    SHARES

  • बहुमत पुर्‍याउन चाहिने १८ सांसदको पूर्ति यसरी गर्दैछन् केपी ओली
    फाइल तस्वीर

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आफूविरुद्ध आउनसक्ने अविश्वास प्रस्ताव वा विश्वासको मत लिन जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यको कसरत गरिरहेका छन् । 

    आफूविरुद्ध प्रतिनिधि सभाभित्र गठबन्धन हुने संकेत पाएपछि प्रधानमन्त्री ओलीले जसपाले अघि सारेका मुद्दा सम्बोधन गर्ने आश्वासनसहित सहकार्यका लागि प्रयास गरेका छन् ।

    प्रतिनिधि सभामा दलीय अंकगणितअनुसार नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा आउनुपर्छ । यी ३ पार्टीबीच सहमतिको गृहकार्य भइरहे पनि प्रधानमन्त्री ओलीले जसपालाई विभिन्न आश्वासन दिएर निष्कर्षमा पुग्न दिएका छैनन् । 

    ओलीले प्रतिनिधि सभाबाट वैकल्पिक सरकार गठन नहोस् भन्ने चाहनास्वरूप खेलेको खेल सफल भए मुलुक मध्यावधि निर्वाचनमा जानेछ ।

    ओलीले आश्वासन दिए पनि जसपाले उठाएका माग सम्बोधन गर्न त्यति सजिलो छैन । जसपाका सबै माग पूरा गर्दा प्रधानमन्त्री विवादमा तानिने छन् । जसपाले राष्ट्रिय राजनीतिभन्दा पनि क्षेत्रीय राजनीति गरिरहेको छ ।  

    मुलुकलाई निकास दिन जिम्मेवारी बहन गर्न तयार रहनुपर्ने यो पार्टी विभिन्न माग राखेर सत्ताको मोलमोलाइमा लाग्दा निकास निस्कन सकेको छैन । जसपा नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीसँगको छलफल सकारात्मक भएको बताएका छन् । उनले कांग्रेस र माओवादी केन्द्रसँग पनि सकारात्मक छलफल भइरहेको बताए ।

    जसपाका केही नेताको झुकाव प्रधानमन्त्री ओलीसँग छ । जसपाभित्रै डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूह भने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न इच्छुक देखिएको छैन । 

    जसले गर्दा ओलीसँगको सहकार्यमा जसपा एकमत हुन सकेको छ । असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीसँग सहकार्य हुनासाथ जसपा २ टुक्रा हुने निश्चित छ । तत्कालीन समाजवादी फोरम र राजपा मिलेर एकीकरण भएको यो पार्टीको एउटा खेमाले प्रधानमन्त्री ओलीसँग सहमति गरे पूर्ववत् अवस्थामा फर्किन सक्ने स्रोत बताउँछ ।

    स्रोतका अनुसार तत्कालीन राजपा खेमा प्रधानमन्त्री ओलीसँग निकट देखिएको छ । प्रतिनिधि सभामा तत्कालीन राजपा खेमाका १७ सांसद छन् । १ सांसद रेशम चौधरी निलम्बनमा रहेका छन् ।

    तत्कालीन समाजवादी फोरमका १७ सांसदमध्ये १ हरिनारायण रौनियार निलम्बनमा रहेका छन् । प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । एमालेका १२१ सांसदमध्ये सानु सिवाको निधन भएपछि १२० जना छन् । एमालेले बहुमत पुर्‍याउन थप १८ सांसदको समर्थन चाहिने छ ।

    स्रोतका अनुसार प्रधानमन्त्री ओलीसँग जसपाले अहिले सरकारमा जाने कुरा गरेको छैन, उसले ३/४ वटा माग राखेको मात्रै छ, ती माग सम्बोधन हुनासाथ ऊ सरकारमा जान्छ । जसपाले राखेका मागहरु कानूनी, प्रशासनिक र राजनीतिक प्रकारका रहेका छन् ।

    राजनीतिक प्रकारका मागमात्र सरकारले सम्बोधन गर्न सक्ने देखिएको छ । कानूनी र प्रशासनिक माग सम्बोधन गरेमा सरकार विवादमा पर्नेछ । 

    जसपाले उठाएका माग कसरी सम्बोधन गर्ने भन्ने विषयमा महान्यायाधिवक्ताको कार्यालयसँग छलफल भइरहेको छ । जसपाले रेशम चौधरीलगायत नेता–कार्यकर्ताको रिहाइ, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने विषयलाई एकसाथ सम्बोधन गर्नुपर्ने माग राखेको छ । 

    प्रधानमन्त्री ओलीको रणनीति भनेको जसपालाई अरु दलसँग मिल्न नदिएर यथास्थितिमा अडाएर राख्ने रहेको स्रोतले बतायो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । समर्थन फिर्ता लिएमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्छ । माओवादी केन्द्र अहिले पार्टी पुनर्संरचना गर्ने तयारीमा छ । 

    एमालेभित्रको किचलो रहिरहेसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को कदम चाल्ने छैनन् भन्ने आकलन छ । एमालेमा माधव नेपाल पक्षको व्यवस्थापन भएपछि मात्रै दाहालले यसबारे निर्णय लिने स्रोतले बतायो । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend