काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन खुबै कोसिस गरे । कहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त कहिले माधवकुमार नेपालसँग उनले कुराकानी गरे ।
विभिन्न नेतासँग भेटेपछि नेता पौडेलले ओलीविरुद्ध चर्काे कुरा पनि गर्ने गर्थे । तर सभापति शेरबहादुर देउवा भने मौन बसेर पर्ख र हेरको नीतिमा रहेका थिए ।
केही दिनअघि विराटनगर पुगेर सभापति देउवाले कांग्रेसले ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने स्पष्ट पारे । प्रधानमन्त्री ओलीलाई हटाउन कांग्रेस र सभापति देउवा सक्रिय हुनुपर्ने आवाज उठाउँदै आएका नेता पौडेल भने अब देउवाकै लाइनमा आइपुगेका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा नेता पौडेलले कांग्रेसबाट वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने बताएका छन् । उनले अहिलेको अवस्थामा सत्तालाई प्राथमिकतामा राखिएको छैन ।
संसदीय प्रजातान्त्रिक पद्धतिमाथि चौतर्फी रूपमा आक्रमण भइरहेको अहिलेको अवस्थामा यसलाई बचाउन प्रजातान्त्रिक दलबीच आपसी एकता अपरिहार्य रहेको समेत उनले बताए । पौडेलले संघीय लोकतन्त्र र जनताको बलिदानबाट निर्माण गरिएको संविधान जोगाउनु नै अहिले महत्त्वपूर्ण कार्य रहेको बताएका छन् ।
वरिष्ठ नेता पौडेलले वर्तमान अवस्थामा संविधान र लोकतन्त्रलाई भत्काउने विभिन्न किसिमका षड्यन्त्र भइरहेकाले मुलुकलाई जोगाउन सबै दललाई आग्रह गरेका छन् ।
पौडेलले सबै राजनीतिक दलबीच आपसी सहमतिमा सरकारको विकल्प खोज्ने गरी छलफल तथा गृहकार्य जारी रहेको औंल्याएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।