काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सर्वोच्च अदालत जाँदैछन् । एमाले र माओवादी केन्द्रको एकता खारेज गर्ने र नेकपा नाम ऋषिराम कट्टेललाई दिने सर्वोच्चको फैसलाविरुद्ध प्रचण्ड आज पुनरावलोकनमा जान लागेका हुन् ।
विगत दुई दशकभन्दा बढी नेपालको राजनीति प्रचण्ड वरिपरि केन्द्रित थियो । राजादेखि गिरिजाप्रसाद कोइरालासम्मलाई खेलाएका प्रचण्डले अहिले पनि आफूलाई राजनीतिको ठूलो खेलाडी सम्झिन्थे ।
तर, यतिबेला उनी रुझेको मुसो जस्तै बनेका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँगको सिंगौरी प्रचण्डका लागि ठूलो सबक बनेको छ । प्रचण्ड ओलीसँग दुवै मोर्चामा पराजित भएका छन् । एक त ओलीलाई पदच्युत गर्न उनको वैकल्पिक सरकार दिन सकेका छैनन् ।
फेरि पनि उनी केपी ओली सरकारलाई नै समर्थन दिन बाध्य छन् । त्यसैले ओलीसँगका हरेक कदम प्रचण्डका लागि प्रत्युत्पादक बनेको छ । प्रचण्ड कमजोर बन्दा फेरि पनि नेपालको राजनीति केही समयका लागि ओलीको वरिपरि नै केन्द्रित हुने देखिएको छ ।
जबसम्म प्रचण्डले ओलीलाई दिएको समर्थन फिर्ता लिँदैनन् र संसदमा नयाँ खेल सुरु हुँदैन, तबसम्म ओली शक्तिशाली नै रहने अवस्था छ । यसैलाई मध्यनजर गर्दै बिहीबार नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले भनेका थिए– ‘माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्र संसदमा नयाँ खेल सुरु हुन्छ । त्यसले ओलीलाई कमजोर बनाउँछ ।’
माओवादी केन्द्रले आफूले दिएको समर्थन फिर्ता लिने दिन नजिकिँदै गर्दा ओलीले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई आफूतिर तानिसकेका छन् । केही दिनभित्र जसपा सरकारमा सामेल हुने भय प्रचण्डमा देखिएको छ ।
सोही कारण अहिले फेरि उनले एमाले र माओवादी केन्द्रबीच एकता गराउने भन्दै सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गर्न लागेको विश्लेषण गर्न थालिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।