काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेमा ओली पक्षीय नेता तथा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले आफू नेतृत्वको मन्त्रिमण्डल विस्तार गरेका छन् ।
प्रदेश सरकारका रिक्त सबै मन्त्रालयसहित २ राज्यमन्त्री नियुक्त गरिएका जनाइएको छ । मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीका अनुसार शुक्रबारै दिउँसो नवनियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम राखिएको छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्रीमा बढुवा भएका छन् । दुबै जनालाई आ–आफ्नै मन्त्रालयको मन्त्रीको जिम्मेवारी दिइएको छ ।
माओवादी केन्द्रको संसदीय दलको नेता छोडेर आएका टंक आङ्बोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्री, माधवकुमार नेपालको क्याम्प छाडेर आएकी उषाकला राईलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइने भएको छ ।
प्रदेशसभा सदस्य कला घले र राजकुमार ओझालाई राज्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ । घलेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र ओझालाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
मुख्यमन्त्री राईले नै भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी हाल आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सम्हाल्दै आएका छन् ।
तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर अभियान चलाएपछि मन्त्रीबाट पुस ११ गते बर्खास्त गरिएको हो ।
मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउनुअघि तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरे, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले पुस १२ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।
तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भएको छ । अविश्वास प्रस्ताव दर्तापछि अल्पमतमा परेका मुख्यमन्त्री राई सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै मजबुत बनेका छन् ।
मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरूले सामूहिक फिर्ता लिने घोषणा गरिसकेका छन् । मुख्यमन्त्री पद सुरक्षित भएपछि राईले मन्त्रिमण्डल विस्तार गर्न लागेको जनाइएको छ । ओली पक्षीय मुख्यमन्त्री राईले एकलौटी सरकार बनाउन थालेपछि एमालेभित्र अध्यक्ष केपी शर्मा ओली झन् बलिया भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।