काठमाडौं - एमाले र माओवादी केन्द्र अलग अलग हुनु र प्रतिनिधिसभाले प्रधानमन्त्री केपी ओलीको विकल्प दिन नसकेपछि जसपाका राजेन्द्र महतो सरकारमा जान हतारिएका छन् ।
तर सोही पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले ओली सरकारलाई छिटो बिदा गर्नुपर्ने बताइरहेका छन् । यसले जसपा निकै ठूलो संकटबाट गुज्रिरहेको संकेत गर्छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले कांग्रेसलाई केपी ओलीको विकल्पमा सरकार निर्माण गर्न सुझाव दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले तत्काल आफ्नो नेतृत्वमा सरकार गठन नहुने भनेर पछाडि हटेपछि बाबुरामले यस्तो सुझाव दिएका हुन् ।
उनले बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनै पनि वेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने भएको भन्दै ओली सरकारलाई बिदा गर्न ढिलाइ भएको उल्लेख गरेका छन् । उनले नयाँ सरकार गठन गर्नबाट पछि नहट्न पनि सुझाव दिएका छन् ।
‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनै पनि वेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो। अहिले असंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनः नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई बिदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकूल भएन है,’ बाबुरामले बिहीबार बिहान ट्विटमा लेखेका छन् ।
बाबुराम नेतृत्वको जसपा नै ओली सरकारमा जान हतार गरिरहेका बेला उनले कांग्रेसलाई नयाँ सरकार गठन गर्न सुझाव दिनुले चाँडै सो पार्टी विभाजन हुने दिशामा पुगिसकेको संकेत गर्छ ।
महतोले जसपा सरकारमा जाने भए उपप्रधानमन्त्रीसहित आठ मन्त्रालयमा दाबी गरेका छन् । यदि सो संख्याको मन्त्रालय पाएमा जसपाको एउटा हिस्सा सरकारमा जाने र अर्को हिस्सा सडकमा रहने निश्चित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।