काठमाडौं - नयाँ सत्ता समीकरणका लागि जसपामा दुई धार देखिएपछि पार्टी फुट्ने सम्भावना बढ्दै गएको छ । मंगलबार साँझ नै सरकार र जसपाबीच सहमति हुने भित्री तयारी थियो । त्यसका लागि जसपा नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
बालुवाटारमा एमाले कार्यदलसँग जसपा नेताहरूको लामो कुराकानी भयो । तर, अन्तिममा वार्ता सकारात्मक भन्दै नेताहरू बाहिरिए । सहमतिमा हस्ताक्षर गर्न भनेर गएका नेताहरू रित्तै फर्किएपछि बालुवाटार झसंग भएको छ ।
प्रधानमन्त्री केपी ओलीले जसपालाई इच्छा लागे सरकारमा आउँछ नआए केही फरक पर्दैन, अनावश्यक माग पूरा नगर्ने सन्देश दिएपछि मंगलबारको वार्ता भाँडिएको थियो ।
तर, एमाले नेताहरूले केही दिनभित्र ठोस सहमति हुने बताइरहेका छन् । जसपामा पूर्व राजपा नेताहरु ओली सरकारमै सहभागी बनेर आफ्ना माग मुद्दा पूरा गराउन चाहन्छ । तर, प्रधानमन्त्री ओलीले माग पूराबारे कुनै प्रतिबद्धता जनाएका छैनन् ।
पूर्वसंघीय समाजवादीका नेताहरु ओली सरकारलाई ढालेर कांग्रेस–माओवादीसँग गठबन्धन बनाउन चाहन्छ। यही किचलोका बीचमा महन्थ, राजेन्द्रहरु ओली सरकारमा जान सहमति भए पार्टी फुटबाट कसैले रोक्न नसक्ने जसपाका एक वरिष्ठ नेताले जानकारी दिए।
‘सरकारमै जाने कुराले जसपा फुट्न सक्ने सम्भावना बलियो छ। अब पार्टी फुट्दा एमाले–माओवादीजस्तै केही नेताहरु यता र उता हुने सम्भावना पनि छ,’ ती नेताले भने।
जसपामा बहुमत पक्ष ओली सरकारमा जान सहमत छ । सरकारमै जाने विषयले जसपा विभाजन भएमा ओली सरकार कति सुरक्षित हुन्छ भन्ने जोडघटाउ सुरु भएको छ ।
जसपामा १७ जना पूर्वराजपाका सांसद छन् । एमालेसँग १२० सांसद छन् । यदि पूर्वराजपाका १७ सांसदले साथ दिएमा ओली सरकार बहुमतकै हुनेछ माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिए पनि ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।