काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगनकुमार थापा प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पोल खुल्ने गरी गर्जिएका छन् ।
ओली सरकार रहुञ्जेल संसदको अपमान, उपेक्षा, तिरस्कार गर्ने काम अझै बढ्दै जाने थापाले बताए ।
मंगलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता थापाले प्रधानमन्त्री ओलीले संसदसँग बदला लिइरहेको बताउँदै आफ्नो ठाउँबाट संसदको गरिमा कायम गर्नका निम्ति लड्ने घोषणा गरे ।
नेता थापाले प्रधानमन्त्री ओलीले संसद र सांसदको मात्र अपमान गरेको नभई जनताको अपमान गरेको बताए । जनताको अपमानको यथोचित समयमा जनताले हिसाब–किताब गर्ने थापाले बताएका छन् ।
‘कहिले प्रश्न छल्न हठात संसद स्थगित, कहिले पार्टी भित्रको विरोधी तह लगाउन संसद भंग अनि अहिले प्रतिनिधिसभा भंग सही थियो भनेर सावित गर्नका लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च । यो विधेयक अधिवेशन हो । हामी काम गर्न तयार छौं । एसिड आक्रमणकारीलाई कारवाही गर्न बनाएको विधेयक अघि बढाउन दिएन भनेर हल्ला गर्ने तर संसदलाई एउटा विधेयक पनि नदिने अनि विधेयकलाई कानून बनाउन चाहिने राष्ट्रिय सभाको बैठक पनि नबोलाउने ?’ उनले भने ।
नेता थापाले संसदभित्र बसेर गरिमा जोगाउन आफ्नो ठाउँबाट डटेर लड्न आह्वान समेत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।